• १२ असार २०८१, बुधबार

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन

blog

हुम्ला समाचारदाता

हुम्ला, असार ३ गते । नेपाली भूमि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सुरु भएको छ । लिमी जाने न्यालु लेकमा जमेको हिउँ पन्छाएर सडक सुचारु भएसँगै लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको हो । 

तीन दिनअघि लाप्चा पुगेर भारतीय तीर्थयात्रीलाई मानसरोवर कैलाशको दर्शन गराएर फर्किनुभएका पर्यटन व्यवसायी रिञ्जिन लामाले न्यालुको हिउँ पन्छाएर सडक सुचारु भएसँगै यस वर्षको मानसरोवर कैलाशको दर्शन सुरु भएको बताउनुभयो । 

यतिबेला मौसम पनि सफा भएका कारण लाप्चाको पाँच हजार २७ मिटर अग्लो भ्यु प्वाइन्टबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने उहाँले बताउनुभयो । उहाँसहित तीन जना भारतीय तीर्थयात्री र अन्य तीन जना गरी सात जनाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । त्यसै गरी यस वर्ष पहिलो पटक लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले सडक सुचारु भएका कारण त्यो सम्भव भएको बताउनुभयो । 

उहाँसँग काठमाडौँबाट आएका दुई जना प्रोफेसर थिए । पहिले पैदल मार्गबाट लाप्चा पुग्न चारदेखि पाँच दिन लाग्ने गरेकोमा अहिले एकै दिनमा लिमीको तुम्लिङ पुगेर बास बस्ने र अर्को दिन लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरी सिमकोट फिर्ता हुन सकिने उहाँले बताउनुभयो । 

यो मौसम लाप्चाबाट मानसरोवरको कैलाश दर्शन गर्ने उपयुक्त मौसम हो । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले यस वर्षको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य सुरु भएयता आठ वटा समूह गरी डेढ सय जनाले दर्शन गरेको बताउनुभयो । 

गत वर्ष यो अवधिमा २० जनाले मात्र दर्शन गर्ने कार्य भएको थियो । हुम्लावासीले मात्र यसअघि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्दै आएकामा हाल पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसअघि तीन वर्ष लगातार सद्गुरुले लाप्चा पुगेर दर्शनका साथै पूजापाठ पनि गर्नुभएको थियो । 

कसरी पुग्ने लाप्चा

नेपालगन्जबाट सिमकोट आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकले लाप्चा पुग्नका लागि सडक यातायातबाट जानुपर्ने हुन्छ । सिमकोटबाट बिहान ८ बजे छुटेका गाडी दिउँसो ४ देखि ५ बजे ताक्ची वा तुम्लिङ पुग्ने गर्छन् । बेलुका लाप्चा गएर बास बस्न नसकिने भए तुम्लिङमै बास बस्नु पर्छ । जहाँ होटेलको व्यवस्था गरिएको छ । बिहान सबेरै गाडीमा लाप्चा जाँदा साढे दुई घण्टामा  पुगिन्छ । त्यसपछि दर्शन गरेर फिर्ता आउनुपर्ने हुन्छ । यस हिसाबले अब सिमकोटबाट लाप्चाको यात्रा दुई दिनमा झरेको छ । 

यातायात खर्च घट्यो

पहिले सिमकोटबाट लाप्चा पुगेर दर्शन गरेर सिमकोट फिर्ता हुन तीनदेखि चार दिन लाग्ने गथ्र्यो । एक दिन गाडीमा रिजर्भ गरेर यात्रा गर्दा दैनिक ७५ हजारसम्म भाडा लिने गरिन्थ्यो । यस वर्षबाट भने गाडी रिजर्भको प्रतिदिन २२ हजारमा झरेको छ ।