• १२ असार २०८१, बुधबार

चौरानब्बे हजार ५१३ मेट्रिक टन मल मौज्दात

blog

काठमाडौँ, असार ३ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो चालु आर्थिक वर्षमा तीन लाख ८९ हजार ४९७ मेट्रिक टन रासायनिक मल आयात गरेको छ । त्यसमध्ये तीन लाख ६९ हजार ५१८ मेट्रिक टन मल बिक्रीवितरण गरिसकेको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ३२ हजार ५२१ मेट्रिक टन मल आयात गरेर एक लाख ३१ हजार ४१९ मेट्रिक टन बिक्री गरिसकेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक लाख ५६ हजार ९७६ मेट्रिक टन आयात गरेर ९८ हजार १९७ मेट्रिक टन बिक्री गरिसकेको छ । जेठ २८ गतेसम्मको तथ्याङ्क अनुसार कृषि मन्त्रालयसँग युरिया, डिएपी र पोटाससहित हाल ९४ हजार ५१३ मेट्रिक टन मल मौज्दात रहेका छन् । 

त्यसमध्ये युरिया ६१ हजार ६०५ र डिएपी २२ हजार ४०६ मेट्रिक टन रहेका छन् । कृषि सामग्री कम्पनीसँग युरिया एक लाख ५० हजार ४९२ र डिएपी ६९ हजार ७० मेट्रिक टन मौज्दात रहेका छन् भने साल्ट ट्रेडिङसँग युरिया ९९ हजार आठ र डिएपी ५० हजार ३२१ मेट्रिक टन मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ । भारतको विशाखापटनममा ५१ हजार मेट्रिक टन डिएपी र कलकत्तामा ३० हजार मेट्रिक टन युरिया मल आइसकेको छ । त्यसमध्ये केही परिमाणमा मल नेपाल भित्रिसकेको कृषि मन्त्रालयले जनाएको छ । भारतसँग भएको जिटुजी सम्झौता अनुसार २५ हजार मेट्रिक टन मल नेपालका लागि हिँडिसकेको र असारको दोस्रो हप्तासम्म आइपुग्ने बताइएको छ । त्यस्तै चीनबाट आउनुपर्ने २५ हजार मेट्रिक टन डिएपी भारतको कलकत्ता आइसकेको र त्यहाँबाट असारको पहिलो हप्ताभित्र नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ ।