• १२ असार २०८१, बुधबार

वन क्षेत्रबाट जडीबुटीका प्रजाति हराउँदै

blog

रामधुनीमा रहेको जङ्गल क्षेत्र । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, असार २ गते । रामधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको हो ।   

सुनसरीको उत्तरी क्षेत्रमा पर्ने रामधुनी वन क्षेत्र रामधुनी, इनरुवा, वराह क्षेत्र नगरपालिका र भोक्रहा नरसिंह गाउँपालिकाको सीमा क्षेत्रमा रहेको जङ्गल क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुख बिरुवा लोप हुँदै गएका हुन् । वनमा जताततै पाउने गरेका रानीकुसुम, साज, करम, कुसुम, खयर, पलाँस, साँदन, चाँप, वेल राजवृक्ष, हर्रो, बर्रो, भोरला, फडिर, जामुन, अँगेरी, बनकेरा, बनआँप, लगायतका वनस्पतिहरू जङ्गल क्षेत्रमा भेटिन छाडेका छन् । 

वन क्षेत्रमा मानव अतिक्रमण बढेपछि पछिल्ला एक दशक यता साज, खिरोँ, टुनी, दबदबे, डुम्री, सिन्दुरे, तेजु, पलाँस, साँदन, टाँटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा देखिन छोडेको स्थानीयको भनाइ छ । अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुट्मिरो, औलिया, रनबाँस सङ्कटापन्न अवस्थामा छ । 

वन संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिँदै आए पनि वन क्षेत्रका ठुला रुखहरू मासिँदै जानु, बुढा भएर ढल्नु, डढेलो लाग्नु, घाँस दाउराको रूपमा प्रयोग हुनुजस्ता कारणले घना वन पातलिँदै गएको छ । 

राज्यले वन संरक्षण गर्ने नीति नियम ल्याए पनि वन मानव सिर्जित र प्रकृति प्रकोपका कारण पातलिँदै गएको छ । रामधुनी संरक्षित वन परिषद्का अध्यक्ष डिल्ली कार्कीका अनुसार जङ्गल क्षेत्रमा हुने आगलागी, चोरी पैठारी र रुखहरू घाँस दाउराका रूपमा काटिदा विभिन्न जातका रुख बिरुवाहरू वन क्षेत्रबाट लोप हुँदै गएका हुन् । 

आगोको ताप सहनशक्ति कम भएका बोटबिरुवा जङ्गलमा आगलागी मा परी मर्ने हुँदा त्यस्ता बिरुवाहरू वन क्षेत्रबाट मासिँदै गएका छन् । “मानिसको चाप वन क्षेत्रमा बढी भएकै कारण रुख बिरुवाहरू मासिँदै छन्” कार्कीले भन्नुभयो । 

बनसँग आश्रित बाख्रापालक किसानले साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा जडीबुटी र घाँस प्रजातिका बोट बिरुवाहरू मासिँदै गएका छन् । बिरुवा अवस्थामै घाँसको प्रयोगका लागि साना बोट बिरुवा काटिदा बीउ नपाक्ने र  अरू नयाँ बिरुवा उम्रिन नपाउँदा घाँस र जडीबुटीका बिरुवा जङ्गल क्षेत्रबाट लोप हुने अवस्थामा पुगेको वन अधिकृत सुरेन्द्रकुमार कार्कीले बताउनुभयो । 

“वनमा जताततै पाइने हर्रो, बर्रो, कुसुम, ऐसेलु, कोइरालो, अमलालगायतका जडीबुटी र फलफूलजन्य बोटबिरुवा आजकल देखिँदैनन्” वराह क्षेत्र १० का रामप्रकाश कोइरालाले भन्नुभयो । ५३ वर्षीय कोइरालाले विगत सम्झँदै रामधुनी मन्दिर जाँदा कुसुम, फँडिर खाने गरेको तर अव त रुख पनि देखिन छाडेको दुखेसो पोख्नुभयो ।

साना बुट्यान नै काटेर घाँसका रूपमा किसानले प्रयोग गर्दा बहुमूल्य प्रजातिका वनस्पति सकिँदै गएको छ । वनमा आश्रित किसानलाई सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षारोपणमा जोड दिनु पर्ने वन अधिकृत कार्कीले बताउनुभयो । रामधुनी जङ्गल २२ सय हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा १५ सय हेक्टर क्षेत्रफलमा सामुदायिक वन र सातसय हेक्टर क्षेत्रफलमा वन परिषद् रहेको छ ।