• १२ असार २०८१, बुधबार

राससको बृहत्तर हितका लागि सहयोग र सहकार्य आवश्यक : अध्यक्ष झा

blog

राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । फाइल तस्बिर

काठमाडौँ, असार २ गते । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीको हक, हित र वृत्तिविकासका पक्षमा इमान्दारीका साथ काम गरिरहेको रासस व्यवस्थापन सदैव सहयोग र सहकार्यका पक्षमा रहेको बताउनुभएको छ । 

रासस केन्द्रीय कार्यालयमा आयोजित नियमित कर्मचारी भेलामा अध्यक्ष झाले आर्थिक मितव्ययिता, सुशासन, समाचारको गुणस्तर सुधार र कर्मचारीको वृत्तिविकासका पक्षमा प्रतिबद्ध व्यवस्थापनलाई राससकर्मीबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट घटे पनि राससको बजेट वृद्धि भएकोमा खुसी व्यक्त गर्दै उहाँले समाचार सेवा २४ सैँ घण्टा सञ्चालन गर्ने र अन्य थप राष्ट्रिय भाषाको समाचार सेवा क्रमशः प्रवाह गर्ने योजना कार्यान्वयन गर्न अब ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।  

काँकडभिट्टामा रहेको राससको जग्गा र भवन भाडामा लगाउनेक्रममा बोलपत्र आह्वान भएको उल्लेख गर्दै अध्यक्ष झाले भन्नुभयो, “प्रारम्भिक मूल्याङ्कनका आधारमा उल्लेख्य मात्रामा त्यहाँ भाडा वृद्धि हुने अवस्था छ, राससको स्वामित्वमा रहेको वीरगन्ज र काठमाडौँस्थित राष्ट्रिय महिला आयोग रहेको भवन पनि बोलपत्र आह्वान प्रक्रियाबाट भाडामा लगाउने सोच छ । घरभाडाबाट प्राप्त रकमको ९५ प्रतिशत कर्मचारी उपदान कोषमा राख्ने व्यवस्था गरिएको छ, वृत्तिविकासलगायत कर्मचारीको समग्र हकहितका पक्षमा सदैव चिन्तित छु, समस्या समाधानका पक्षमा सहकार्य गर्न सबैसँग अनुरोध गर्दछु ।”     

राससका महाप्रबन्धक सिद्धराज राईले एकीकृत सफ्टवेयर सञ्चालन, विद्युतीय हाजिरी, कर्मचारीको वृत्तिविकास र आर्थिक मितव्ययिताको पक्षमा व्यवस्थापन क्रियाशील रहेको उल्लेख गर्दै रासस र राससकर्मीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा राससका नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्यामप्रसाद रिमाल र सोमनाथ लामिछानेले आ-आफ्नो महाशाखाअन्तर्गतका गतिविधिका बारेमा जानकारी गराउँदै छिटो छरितो ढङ्गबाट गुणस्तरीय समाचार सामग्री सम्प्रेषणमा जोड दिनुभयो । 

यसैगरी रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईँ, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका सचिव अशोक घिमिरेलगायतले कर्मचारीको वृत्तिविकास एवम् हकहितका विषयमा व्यवस्थापनको ध्यानाकर्षण गर्नुभएको थियो । रासस व्यवस्थापनले आफ्नो कामकाजलाई पारदर्शी र जबाफदेही बनाउने उद्देश्यसहित हरेक तीन महिनामा कर्मचारी भेला गरी सम्पादित कामको समीक्षा गर्दै आएको छ । रासस