• १२ असार २०८१, बुधबार

तनहुँमा विकास खर्च ११ महिनामा ५० प्रतिशत मात्रै

blog

व्यास नगरपालिका–८ चापाघाट,कन्टारमा सडक कालोपत्रे गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २ गते । तनहुँमा आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुटाइएको विकास लक्षित बजेट आधा मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्त सम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको छ ।

जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूका लागि सङ्घ सरकारबाट प्राप्त तीन अर्ब ८१ करोड २४ लाख १४ हजार हजार आठ सय २९ मा ११ महिनामा ४६ दशमलव ५७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार त्यस्तै चालूतर्फ ८२ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब १६ करोड १४ लाख ६७ हजार छ सय १३ विनियोजन भएकोमा रु सात अर्ब ५४ करोड ती हजार चार  खर्च भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ५५ दशमलव ४८  प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब ६० करोड ३७ लाख छ हजार विनियोजन भएकामा रु एक अर्ब ४४ करोड  ४५ लाख ४१ हजार तीन सय १४ रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ। 

त्यस्तै प्रदेशमा चालूतर्फ रु ८६ करोड ५८ लाख २९ हजार नौ सय ८० विनियोजन भएकामा रु ४७ करोड ५८ लाख ५४ हजार छ सय ३२ अर्थात् ५४ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउने लगायतले गर्दा विकास बजेटको खर्च न्यून हुन पुगेको प्रमुख कोष नियन्त्रक भट्टराई बताउनुहुन्छ ।

कार्यालयका अनुसार ११ महिनामा सङ्घ र प्रदेशको गरी ५० दशमलव १८ प्रतिशत विकास (पुँजीगत) बजेट खर्च भएको छ । पुँजीगत बजेट रु छ अर्ब ४१  करोड ६१ लाख २० हजार आठ सय २९ मा तीन अर्ब २१ करोड ९८ लाख ७३ हजार आठ सय ६० खर्च भएको छ । यस्तै चालुतर्फ भने ७९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु दश अर्ब दुई करोड ७२ लाख ९७ हजार पाँच सय ९३  विनियोजन भएकोमा आठ अर्ब एक करोड ५८ लाख ५८ हजार एक सय चार अर्थात् ७९ दशमलव ९४ प्रतिशत खर्च भएको छ ।