• १२ असार २०८१, बुधबार

पाँचथरमा पहिरोले ६० घरपरिवार विस्थापित

blog

बाढीले बगाएपछि क्षति ग्रस्त भएको ओयामस्थित ओयाम खोला पुल । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार २ गते । पाँचथरको याङवरक गाउँपालिका १,२ र ३ मा अविरल वर्षासँगै पहिरो जाँदा ६० घर परिवार विस्थापित भएका छन् । बाढीले याङवरक ३ को फलाम खोला र ओयाम खोलाका २ वटा मोटरेबल पुल बगाएको छ भने याङवरक २ रिजाल भीरमा गएको पहिरोका कारणमध्ये पहाडी राजमार्ग अवरुद्ध भएको हो ।

माथिल्लो बस्तीबाट आएको बाढीले ओयाम बजारका घरहरू पुरिएका छन् । वडा नम्बर १,२ र ३ का करिब एक सय घर पहिरोको जोखिममा रहेको याङवरक ३ का वडाध्यक्ष विमल राईले बताउनुभयो । उहाँका अनुसार पहिरोको जोखिम बढेपछि ओयामका ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उहाँका अनुसार चोथ्रोकका नागरिक हेभन्लि पाथको भवन र फाक्लुङका स्थानीयलाई गाउँमा सुरक्षित रहेका घरहरूमा सारिएको छ । 

शनिवार साँझदेखि भइरहेको वर्षा अझै जारी छ झरी नरोकिए झनै जोखिम बढ्ने देखिन्छ, उद्धार र राहतका लागि प्रहरी प्रशासन गुहारिएको राईले बताउनुभयो । प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जोखिम रहेका स्थानका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको बताउनुभयो ।