• ११ असार २०८१, मङ्गलबार

कोरिडोर सडक धमाधम कालोपत्रे हुँदै

blog

आधिमुहानदेखि मोहनडाँडा खोलासम्मको सडक कालोपत्रे हुदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असार २ गते । देश सङ्घीयतामा गएसँगै सरकारले पछिल्लो समय ठुला तथा साना आयोजनाहरू निमार्णलाई तीव्रता दिएको छ । यहाँको कालीगण्डकी गाउँपालिका–७ आधिमुहानदेखि गल्याङ नगरपालिका–५ सेतीबेनीसम्मको १० किलोमिटर कालीगण्डकी काेरिडोर सडक कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिएको हो । 

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो सडक तीव्र रूपमा निर्माण अगाडि बढाइएको छ । २०६८ सालमा ट्रयाक खोलिएको सडक उत्तर–दक्षिण लोकमार्गको रूपमा नामकरण गरिएको थियो । पछिल्लो समय कालीगण्डकी कोरिडोरमा नामकरण भएसँगै कामले गति लिएको हो । 

आधिमुहानदेखि मोहनडाँडा खोलासम्मको सात किलोमिटर पहिलो खण्ड सडक महादेव खिम्ती–अन्जना पराजुली जेभी लमजुङले ठेक्का सम्झौता गरेर काम तीव्रता पारेको छ । सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्रे गर्नेगरी २०७७ भदौ १२ गते निर्माण कम्पनीले २१ करोड ९८ लाख ६ हजार १९० रुपियाँ १९ पैसामा सम्झौता गरेको थियो । 

पहिलो खण्डको ७ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे भएको बताउँदै इन्जिनियर सुरेन्द्र गौतमले र बिचमा ब्लाष्टिङ गर्नुपर्ने भएकाले ढिलाइ भएको बताउनुभयो । पहिलो खण्डको २०८२ असार मसान्तसम्म सक्नेगरी म्याद थप भएको र अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको गौतमले बताउनुभयो । 

यस्तै, मोहनडाँडा खोलादेखि सेतीबेनीसम्मको दोस्रोखण्ड तीन किमी काष्ठमण्डप–कली– मनकामना जेभीले ८ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको थियो । 

२०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्नेगरी साढे दुई वर्षमा काम सक्ने गरेर सम्झौता भएको थियो । दुवै सडक डीबीएसडी कालोपत्र भएको बताउँदै गौतमले दोस्रो खण्ड सब बेस हालिएको र आगामी मङ्सिर मसान्तसम्म सक्नेगरी काम भइरहेको गौतमले बताउनुभयो । 

दोस्रो खण्डको ५५ प्रतिशत भौतिक प्रगति भएको र करीडोर सम्पन्न भएपछि लामो तथा छोटो दूरी एवं धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म जान निकै सहज हुनेछ । यस्तै कोरिडोर स्याङ्जा खण्डको १० किलोमिटरमा कालिगडण्डी गाउँपालिका –७ र गल्याङ नगरपालिका –५ जोड्ने आँधिखोला तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोडने सेतीखोला पुल निर्माण भएको हो ।  

गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने आँधिखोला जोड्ने ५० मिटर लम्बाइ भएको पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको छ । यस्तै, सेतीबेनी खोला ट्रष्ट ब्रिज मुक्तिनाथ–सुयान जेभीले निर्माण थालेको पाँच वर्षमा निर्माण भएको हो । 

गल्याङ नगपालिका–५ र पर्वतको बिहादी जोडने सेतीखोला ट्रष्ट ब्रिज पाँच करोड ८६ लाख ८२ हजार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।