• ४ असार २०८१, मङ्गलबार

बेनी–तोरीपानी–पाखापानी सडक स्तरोन्नति सुरु

blog

उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नति गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १ गते ।
 जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका ग्रामीण बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक स्तरोन्नति योजना सुरु भएको छ ।

ट्रयाक खुलेको २५ वर्षपछि सडक स्तरोन्नति हुनथालेपछिस्थानीयहरु खुसी भएका छन् । तत्कालीन जिल्ला विकास समितिले २०५६ सालमा यो सडकको ट्रयाक खोलेको थियो ।

बेनी–अर्थुङ्गे–घतान–ताेरीपानी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ९ को किराखोर देखि गलेश्वर मावि तोरीपानीसम्मको चार किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले बहुवर्षीय ठेक्का मार्फत कार्यान्वयन गरेको छ ।

सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रा.लिसँग भ्याट बाहेक १० करोड १६ लाख एक  हजार ३६४ रुपियाँमा दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न  २०८१ जेठ २०  गते ठेक्का सम्झौता गरेको थियो ।

सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो । निर्माण कम्पनीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर काम थालेको छ उहाँले भन्नुभयो ‘‘योजनालाई गुणस्तरीय, दिगो र सम्झौता मिति भित्र सम्पन्न गर्नका लागि कार्यालयका तर्फबाट नियमित रूपमा अनुगमनको व्यवस्था मिलाएका छौँ ।’’

निर्माण व्यवसायीले दैनिक रूपमा ३० जना मजदुर परिचालन गरेर सडक चौडा पार्ने, ग्यावियन झ्याली लगाउने,नाली निर्माण लगायतका कामलाई तीव्रता दिएको  कार्यालयका इन्जिनियर रवि चोखालले बताउनुभयो ।  तीनदेखि साढे तीन मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यसैगरी चालु आर्थिक वर्षमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा दुई करोड रुपियाँको बजेटबाट वडा नम्बर ६ को एक्लेपिपलदेखि वडा नम्बर ९ को किराखोर सम्म एक किलोमिटर दुई सय मिटर दूरीको सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाल लगायतका कामहरू सकेर  कालोपत्र र ढलानको तयारी गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

तत्कालीन समयमा जिल्ला विकास समितिले बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुँदै पाखापानी गाउँलाई जोड्न यो सडक मार्ग खोलेको थियो । बेनीदेखि अर्थुङ्गेसम्म सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति गरिएको छ ।

बेनी नगरको अर्थुङ्गे, पात्लेखेत, तोरीपानी, घतान र रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँ र ६ नम्बर वडा पाखापानी गाउँलाई सदरमुकामसँग यो सडकले जोड्छ । ट्रयाक खोलेको वर्षौँ हुँदा पनि  सडक स्तरोन्नति नहुँदा सर्वसाधरणहरुले सास्ती भोग्दै आएका छन् । 

सडक स्तरोन्नति भएपछि ग्रामीण बस्तीमा उत्पादन भएको कृषि उपजको बजारीकरण र सर्वसाधरणहरुलाई सदरमुकाम बेनी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको नगरप्रमुख  सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाका धेरै बस्तीहरूलाई जोड्ने भएकाले पनि यो सडकको स्तरोन्नतिका लागि नगरले प्राथमिकतामा राखेर सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिएको उहाँले बताउनुभयो ।