• १० मंसिर २०८१, सोमबार

श्यामश्वेत नेपाली सिनेमा

blog

कुञ्जरशमशेरको सत्प्रयासमा काठमाडौँको सिंहदरबारमा १९९० भदौ १७ मा सर्वप्रथम सिनेमाको प्रदर्शन भएको इतिहास पाइन्छ । यहाँको नाचघरमा एकै पटक हिन्दी र अङ्ग्रेजी गरी चार वटा चलचित्र प्रदर्शन भएको कुरा सिनेमाका अनुसन्धाताहरू बताउँछन् । यसबाट यो विधामा इतिहास त कोरियो तर यो प्रदर्शन उच्च खानदानका राणाहरूका लागि मात्र प्राप्य भयो । सर्वसाधारणले नेपालमा यो विधाको स्वाद चाख्न पाएको भने नयाँसडक काठमाडौँमा जनसेवा हल सुचारु हुन थालेपछि अर्थात् विसं २००६ पछि मात्र हो । सुरुमा यो सिनेमाघरको नाम काठमाडौँ सिनेमाघर थियो । यो अवधिमा विसं २०१३ मा तत्कालीन अमेरिकी सूचना केन्द्र काठमाडौँबाट हिमालयन अवेकिङ नामक वृत्तचित्र बनेको हो तर त्यो पूर्णतः अङ्ग्रेजी भाषामा थियो परिवेश मात्र नेपालको । यसअघि राजा त्रिभुवन २००७ सालको दिल्ली सम्झौतापछि नेपालको विमानस्थलमा ओर्लिंदाका र पहिलो आमनिर्वाचन २०१५ तथा जननायक विश्वेश्वरप्रसाद कोइरालासँग सम्बद्ध फुटेजहरू यदाकदा टेलिभिजनमा देख्न पाइन्छ । यी सबै नेपालमा विदेशी र नेपाली सिनेमाका पूर्वाभ्यासका प्रस्थानविन्दु हुन् । यसै मेसोमा काठमाडौँको टुँडिखेलमा यदाकदा बायस्कोपबाट विभिन्न फुटेज सर्वसाधारणका लागि प्रदर्शन भएको सुनिए पनि तिनको पुष्टि भएको  छैन । 

विसं २००७ मा नेपाली चलचित्रको क्षेत्रमा युगान्तकारी कार्य भयो । नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन चल्दै गर्दा भारतको दार्जिलिङका उत्साही युवाले कोलकातामा हरिश्चन्द्र नामक धार्मिक विषयवस्तु रहेको नेपाली चलचित्र निर्माण गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा होनाहार सिपाहीसमेत रहेका दिव्येन्द्रविक्रम परियार अर्थात् डिबी परियारको सत्प्रयासमा यो चलचित्रको निर्माण भए पनि नेपालमा यसको सार्वजनिक प्रदर्शन भने हुन सकेन । परियारको निर्देशन रहेको यो चलचित्रमा नायिका पासाङल्हामु हुनुहुन्थ्यो भने अन्य कलाकारमा प्रेम नजिर, इला बोस, नन्दलाल गिरी, दिलुसिंह क्षेत्री, डम्बरसिंह तामाङ आदि । नेपालका कलाकार डोरनाथ शर्माबाहेक अन्य सबै कलाकार प्रवासी नेपाली र भारतीय प्राविधिक रहेको यो सिनेमाले नेपाली चलचित्र उद्योगमा एउटा फड्को मार्न पुग्यो । 

तत्कालीन राजा महेन्द्रको अनुरोधमा नेपाल आएका हिरा सिंहले नेपालभित्र नेपाली सिनेमाको उठानमा अजम्बरी कार्य गरे । राजा महेन्द्रको शुभराज्याभिषेक समारोहमा छायाङ्कन गरी यो क्षेत्रमा नेपालमा पहिलो पाइला चालेका हिरा सिंहले विसं २०२२ मा पहिलो नेपाली कथानक चलचित्र आमा बनाउनुभयो । क्रमशः उहाँले परिवर्तन र हिजो आज भोलिको निर्देशन गर्नुभयो । श्यामश्वेत रूपमा बनेका यी चलचित्रले आजका भुवन चन्द, वसुन्धरा भुसाल, शान्ति मास्के, नीर शाह, सुषमा शाही आदिलाई प्रविष्टि दिएको पाइन्छ । राजा महेन्द्रको पञ्चायती दर्शनको प्रचारप्रसारमा यी सिनेमाको प्रयोग भए पनि यिनले हाम्रो सिनेमाको प्रस्थानविन्दुको कार्य गरेका छन् । 

 तत्कालीन नेपाल सरकारको लगानीमा यी श्यामश्वेत चलचित्रहरू बन्दै गर्दा नेपालमा निजी क्षेत्र पनि सिनेमा निर्माणमा जुर्मुरायो । विसं २०२३ मा सुमनाञ्जली फिल्म्स्को ब्यानरमा माइतीघरको निर्माणले नेपालमा व्यावसायिक सिनेमा पनि बन्न सक्छ भन्ने कुराको पुष्टि हुन पुग्यो । थुप्रै हिन्दी सिनेमाका दिग्दर्शन गरेका निर्देशक बिएस थापाको निर्देशनमा बनेको यो चलचित्रमा नरशमशेर र जोगेन्द्र झाले लगानी गर्नुभएको थियो भने नायक र नायिकामा क्रमशः सिपी लोहनी र हिन्दी सिनेमाकी नायिका माला सिन्हा हुनुहुन्थ्यो । माइतीघर, आमा, हिजो आज भोलि तथा परिवर्तन जस्ता श्यामश्वेत सिनेमा सबैको इन्डोर छायाङ्कन भारतको कोलकाता र बम्बईमा भएको थियो ।  

श्यामश्वेतकालीन नेपाली सिनेमाले कलाकार मात्र होइन छायाकार वैकुण्ठमान मास्के तथा संवाद लेखक चेतन कार्की जस्ता प्रतिभालाई पनि जन्मायो । यही कालको एउटा क्रान्तिकारी घटना विसं २०२८ मा सरकारी संरक्षणमा शाही नेपाल चलचित्र संस्थानको निर्माण हुनु हो । सुरुमा अधिकांश वृत्तचित्र तथा विभिन्न जात्रापर्व आदि विषयक वृत्तचित्र बनाइरहेको संस्थानले सर्वप्रथम मनको बाँध नामक चलचित्र श्यामश्वेत कलरमा निर्माण गयो । नेपालको धनकुटामा जन्मी बम्बईमा सिनेमा क्षेत्रमा रहेका प्रकाश थापालाई बोलाई निर्देशनको भार दिलाएर मनको बाँध बनाइएको हो । सरकारी क्षेत्रबाट नेपालमा बनेको पहिलो व्यावसायिक सिनेमाको जस दिइने मनको बाँधबाट सम्पादकका रूपमा पहिलो पटक तीर्थलाल श्रेष्ठको प्रविष्ट भयो भने कलाकारका रूपमा हरिप्रसाद रिमालको ।     

यसरी पहिलो नेपाली सिनेमा हरिश्चन्द्रसमेत आमा, माइतीघर, हिजो आज भोलि तथा परिवर्तन गरी पाँच वटा कथानक चलचित्र यो पहिलो चरणमा बने । एउटा धार्मिक, दुई वटा व्यावसायिक र बाँकी दुई वटा मिसन चलचित्र थिए भने चार वटा नेपालभित्र र एउटा नेपालबाहिर बनेका थिए ।   श्यामश्वेतकालीन नेपाली सिनेमाको चर्चा गर्दा नेपालबाहिर बनेका नेपाली सिनेमाको चर्चा भएन भने यसको उद्देश्य नै अधुरो रहन्छ । पहिलो नेपाली सिनेमा हरिश्चन्द्रको चर्चा भइसकेको छ भने विसं २०३४ मा भारतको कालिम्पोङमा बनेको गुरुप्रसाद मैनालीको अमर कृति, परालको आगोमाथि बनेको परालको आगो समग्र नेपाली सिनेमाको कोसेढुङ्गा हो । आजसम्मकै पूर्ण मौलिक मानिने यो चलचित्रमार्फत निर्देशकका रूपमा उदाए प्रताप सुब्बा । 

यसअघि दार्जिलिङको चौरस्तामा पर्यटकलाई घोडा चढाउने पेसा अँगालेका सइस केटाको जीवनीमा आधारित पन्निब्वाई वृत्तचित्रबाट प्रशस्त चर्चा बटुलेका सुब्बाले परालको आगोमार्फत नेपाली वास्तविक सिनेमाको परिचय दिनुभएको छ । श्यामश्वेत कलरमा बनेको यो सिनेमामा नेपालकी वसुन्धरा भुसाल र अन्य दार्जिलिङका रङ्गकर्मीहरू कलाकारका रूपमा छन् । अरुणा लामा र पेमा लामाको कर्णप्रिय स्वर रहेको यसको प्रकाशनले श्यामश्वेत सिनेमाको कथानक सिनेमाको छैटौँ स्थान लिन सफल भएको पाइन्छ । यसपछि मसाल, दिदी, बाँच्न चाहनेहरू, कहीँ अँध्यारो कहीँ उज्यालो, चट्याङ तथा भीष्मप्रतिज्ञा जस्ता सिर्जना उहाँले गर्नुभयो जसमार्फत सुनील थापा, सुशीला रायामाझी, अशोक शर्मा, मिथिला शर्मा, विराज भट्ट, राजेश हमाल आदि कलाकारलाई प्लेटफर्म प्राप्त भयो । 

यसै क्रममा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलनका प्रणेता साहित्यकार इन्द्रबहादुर राईको कथा जारमा आधारित सिनेमा जार विसं  २०४१ मा निर्माण भयो । औसतस्तरको यो सिनेमा यो चरणको नेपालबाहिरको दोस्रो अर्थात् समग्रमा अन्तिम सिनेमा थियो श्यामश्वेत शैलीको । बङ्गाली निर्देशक बलाई सेनको निर्देशन रहेको यो सिनेमामा गोपाल योञ्जनको पाश्र्वसङ्गीत रहेको थियो ।  

यसरी विसं २००७ मा सुरु भएको नेपाली कथानक सिनेमा निर्माण कार्य विसं २०४१ आउँदासम्म श्यामश्वेत प्रणालीमा रह्यो । यो कालखण्डमा कुमारी, सिन्दूर, जीवनरेखा, बदलिँदो आकाश, बाँसुरी र बाँच्न चाहनेहरू जस्ता सिनेमा रङ्गीन रूपमा बने । औसत दुई तीन वर्षमा एउटा सिनेमा बन्ने त्यो नेपाली परिवेशमा सिनेमाको अवस्था यस्तो थियो । थोरै धार्मिक, केही सरकार क्षेत्रबाट सरकारी मिसनको प्रचारका लागि र बाँकी व्यावसायिक उद्देश्यले बनेमा यी सिनेमा अब नेपाली सिनेमाको इतिहासको अध्ययनको विषय मात्र बनेका छन् । यसमध्ये पहिलो कथानक सिनेमा, पहिलो मौलिक नेपाली सिनेमा, पहिलो नेपालभित्र बनेको सिनेमा, पहिलो धार्मिक नेपाली सिनेमा तथा पहिलो निजी क्षेत्रबाट बनेका सिनेमा आदिको पगरी पनि श्यामश्वेत नेपाली सिनेमाले भिरेको छ ।  

  

Author

कमल सुवेदी