• ४ असार २०८१, मङ्गलबार

झोलुङ्गे पुल दुर्घटना : तत्काल मर्मत असम्भव विकल्प खोजिँदै

blog

रमेशबहादुर रावत 

अछाम, असार १ गते । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको मर्मत तत्काल सम्भव नभएको भन्दै सरकारी पक्ष सो पुलको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय अछाम र पञ्चदेवल विनायक नगरपालिकाले विकल्पका रूपमा नजिकै बन्न लागेको अर्को पुलको कामलाई तीव्र पार्न निर्माण पक्षसंग समन्वय गरिरहेका छन् । 

जिल्ला प्रशासन कार्यालय अछामले गृह मन्त्रालयलाई लेखेको पत्रमा निर्माणाधीन झोलुङ्गे पुलको कामलाई दु्रत गतिमा अगाडि बढाउन सहयोग गर्न अनुरोध गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाले स्थानीयसँग निर्माणाधीन पुलको काममा सघाउन सहजीकरण गरेको नगरप्रमुख अम्बिका चलाउनेले बताउनुभयो । 

उहाँले कालेकाडामा खाद्यान्न अभाव हुन नदिन विनायकदेखि चिल्ताडासम्मको सडकलाई मर्मत गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीको अभाव हुन नदिन हामीले सडक मर्मतको काम गरिरहेका छौँ ।” 

उहाँका अनुसार जीर्ण पुलको मर्मतका लागि प्राविधिक जाँच गरिएको छ । प्राविधिक प्रतिवेदन अनुसार पुललाई पुनर्निर्माण गर्न ८० प्रतिशत काम गर्नुपर्ने भएपछि वैकल्पिक पुल निर्माणमा जोड गरिएको छ ।

यसैबिच पञ्चदेवल विनायक नगरपालिकाको विपत् व्यवस्थापन समितिको बैठकले खच्चडपालक जीवन रोकामगरलाई आर्थिक सहायतादिने निर्णय गरेको छ । आइतबार अछामबाट दैलेख जाँदै गरेका १३ खच्चड पुलको एकतर्फको लट्ठा चुँडिँदा फसेका थिए । फसेकामध्ये ११ को उद्धार भयो भने दुई खच्चड मरेका थिए ।