• १० मंसिर २०८१, सोमबार

घरबास पर्यटनको विकास

blog

कसले बुझ्ने पर्यटनको मर्म ? आफू जन्मेको हुर्केको गाउँघर कसलाई मन नपर्ला र ! आजकाल नेपालमा घरबास पर्यटनको व्यापक चर्चा परिचर्चा हुन थालेको छ । घरबास पर्यटन व्यवसायप्रति केही भ्रम पनि छरिएका छन् । यद्यपि घरबास पर्यटन भन्नाले आफ्नै गाउँघर, रनवन घुमेर, बालापन सम्झेर नाचगान गर्ने, मिठो स्थानीय परिकार खाएर आफूलाई आफ्नै परिवेशमा भुलाउने मायालु वातावरणको स्थापना गराउने पर्यटन व्यवसाय नै घरबास पर्यटन हो । आफ्ना सन्ततिलाई आफ्नो बालापन देखाउने, सिकाउने र अनुभूत गराउने आफ्ना कला संस्कृति र सभ्यता चिनाउने अर्थात् दोहोरी गाउन, रोदी खेल्न, मादल बजाउन, झ्याउरे नाच्न, भजनकीर्तन गर्न, घाँस काट्न, दाउरा चिर्न, गाई भैँसी दुहुन, जात्रा मनाउन, चाडपर्व मनाउन, आदि सिक्ने तथा सिकाउने नै घरबास पर्यटन हो । आफ्नो संस्कृति, सभ्यता रीतिरिवाज, जात्रा, मेलापातको अनुसन्धान, संरक्षण र प्रवर्धन नै घरबास (होमस्टे) व्यवसाय हो । यो व्यवसाय पनि हो र संस्कृतिको संरक्षण पनि हो । 

नेपालमा घरबास पर्यटनलाई होमस्टे पर्यटन भनिन्छ । घरघरमा अतिथिलाई देवतासरह मानसम्मान, भोजनसहित वास दिने चलन हाम्रो धेरै पुरानो हो । त्यसैले त भनिन्छ– अतिथि देवो भवः तर व्यावसायिक रूपमा भने नेपालमा घरबास पर्यटनको सुरुवात २०५४ सालदेखि सिरुबारीका क्याप्टेन रुद्रमान गुरुङले गर्नुभएको हो । २०६७ सालमा सरकारले होमस्टे कार्यविधि ल्याएपछि यसप्रति चासो जागेको देखिन्छ । आजकाल हजार, पन्ध्र सय होमस्टे आफ्नै तरिकाले चलेका छन् तर पर्यटनको नेतृत्व गर्नेले पर्यटन अथवा होमस्टे बुझेकै छैनन् र बुझ्न पनि चाहँदैनन् । 

घरबास पर्यटन भन्नाले आफू बसेको ठाउँको नजिकै, आफ्नो घर वा आफ्नै सहरमा बसेर आफ्नै इतिहास र संस्कृतिको संरक्षण गरेर गरिने पर्यटनलाई जनाउँछ । घरबास पर्यटन ‘स्टेकेसन’ हो । घरबास पर्यटनको यो अवधारणा नयाँ भने होइन । लामो समयदेखि मानिसहरू आफ्नो घर र वरपरकै ठाउँमा रमाउन चाहन्थे तर यात्रा गर्ने चलन र साधनको विकाससँगै यसले प्राथमिकता गुमाएको थियो । यसले आफ्नो गाउँको घरमै वा नजिकको क्षेत्रमै बिदा मनाउने अभ्यासलाई जनाउँछ । यो शब्द दुई अङ्ग्रेजी शब्दहरू ‘स्टे’ (रहने) र ‘केसन’ (छुट्टी) बाट बनेको हो । घरबास पर्यटनले मानिसलाई लामो यात्रा गर्ने, होटल बुक गर्ने र विमान चढ्नुपर्ने झन्झटबाट पनि बचाउँछ । यसका साथै, यो आर्थिक रूपमा पनि फाइदाजनक हुन्छ किनभने यसमा ठुला खर्चहरू जस्तै विमान टिकट, होटल खर्च र खाना पानीको खर्च बचत हुन्छ । वास्तवमा यो आफ्नै मातृभूमिको पवित्र बसाइ हो । आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम हो । आफ्नो बाल्यकालको स्मृति हो । आफ्नै गाउँघरको आनन्दको बसाइ हो । घरमा बसी बसी आनन्दले प्रेमपूर्वक गरिने व्यवसाय नै घरबास पर्यटन हो । 

फाइदा

घरबास पर्यटन भव्य सुसंस्कृत हुने हुँदा अलिकति महँगो त हुन्छ नै तैपनि यसले अतिथिको पारिवारिक बजेटमा ठुलो भार पर्दैन । यात्रा, आवास र अन्य खर्चहरू बचत हुँदा पारिवारिक बचतमा सहयोग नै पुग्छ । लामो यात्रा गर्दा लाग्ने धेरै समय पनि बचत हुन्छ, जसले गर्दा परिवारका सदस्य एकअर्कासँग बढी समय बिताउन सक्छन् । होमस्टेमा छोटो समयमै आफ्नो नोस्टलजियामा पुनः वास्तविक रूपमै पुग्न सकिन्छ । वास्तविक अनुभूति हुन्छ । यस्तै लामो यात्रामा जाने तयारी, प्याकिङ, यातायातको तनाव र नयाँ ठाउँमा जाने चापबाट मुक्त होइन्छ । घरबास पर्यटनले मानिसलाई आरामदायक र तनावमुक्त वातावरणमा छुट्टी बिताउने अवसर दिन्छ । घरबास भनेको घर जाने हो । झोला बोक्ने बस चढ्ने हो । सबै व्यवस्थापन घरका आफन्तले नै गर्ने गर्छन् । आफ्नै घर वा परिचित वातावरणमा छुट्टी मनाउँदा मानिसलाई आराम र सुरक्षाको महसुस हुन्छ नै । यहाँ नयाँ ठाउँको जस्तो अनजान चुनौती सामना गर्नुपर्ने आवश्यकता नै हुँदैन । आनन्द हुन्छ । यो अनन्दको कुनै मूल्य हुँदैन । घरबास पर्यटनले स्थानीय व्यवसायलाई पूर्ण सहयोग र समर्थन पनि गर्छ । स्थानीय रेस्टुरेन्ट, पसल र मनोरञ्जन स्थलको प्रयोग गर्दा स्थानीय अर्थतन्त्रमा योगदान पुग्नु स्वाभाविक हो । आफ्नो गाउँमै दुःख गरेर आफ्नो धर्म संस्कृति र सभ्यता बचाएर राखेका आफन्तको व्यापारको हिस्सा हुन पाउनु गर्वको कुरा हो । चराहरू दिनभरि उडेर अन्त्यमा आफ्नै गुँडमै फर्के झैँ मान्छे पनि फर्कन्छन नै–अर्थात् मर्न त आफ्नै देशमा पाइयोस भन्ने धेरै हुन्छन् । 

गतिविधि

मानिसले आफ्नो सहर वा नजिकको क्षेत्रका सङ्ग्रहालय, ऐतिहासिक स्थल, उद्यान र अन्य पर्यटकीय स्थलको भ्रमण गर्न चाहन्छन् । गाउँघरमा रहेका मठमन्दिरको संरक्षण र प्रवर्धन हुन्छ । आफ्ना पाहुनालाई यस्ता नजिकका पर्यटकीय स्थलको जानकारी दिँदै भ्रमण गराउँदा पर्यटक थप खुसी हुन्छन् । स्थानीय स्तरमा आफूले सबै व्यवस्थापन गर्नु पर्छ नसकेको खण्डमा स्थानीय खानाको अनुभव लिन र नयाँ रेस्टुरेन्ट वा क्याफेमा भोजन गर्न/गराउन सकिन्छ । यसले नयाँ स्वादको अनुभव र स्थानीय खानाको विकास गर्न मद्दत गर्छ । प्रकृति प्रेमीले नजिकका पार्क, हाइकिङ ट्रेल्स र प्रकृतिक स्थलहरूको भ्रमण गर्न सक्छन् । यो शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । होमस्टे व्यवस्थापकले यस्ता गतिविधि सञ्चालन गर्नु पर्छ । सामुदायिक भवन वा घरमै पिकनिक आयोजना गर्ने जस्ता गतिविधि पनि रमाइलो हुन्छ । यस्तै सांस्कृतिक कार्यक्रम जस्तै वर्कसप, थिएटर प्रदर्शन, साङ्गीतिक कार्यक्रम, पूजापाठ, भजनकीर्तन र अन्य सांस्कृतिक गतिविधिमा भाग लिन सकिन्छ । यसले सामाजिक सांस्कृतिक चेतना बढाउन मद्दत गर्छ । विभिन्न गतिविधि तथा क्रियाकालाप विना पर्यटन फस्टाउन सक्दैन । 

चुनौती

घरमै रहँदा मानिसहरूलाई आफ्नो दैनिक जिम्मेवारी र कामबाट टाढा रहन गाह्रो हुन सक्छ । यसले पूर्ण आराम र छुट्टीको अनुभवलाई बाधित गर्न सक्छ । सानो सहर वा गाउँमा बस्ने मानिसका लागि घरबास पर्यटनका आकर्षक विकल्पको कमी हुन सक्छ । नेपालमा पर्यटन क्षेत्रले कुल रोजगारीको ३.२ प्रतिशत रोजगारी (प्रत्यक्ष तथा अप्रत्यक्ष) सिर्जना गरेको छ । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान २.६ प्रतिशत रहेको छ, जुन विगतको भन्दा घट्दो अवस्था हो । गत आर्थिक वर्षमा पर्यटनबाट नेपालले कुल ६७ अर्ब नौ करोड ४६ लाख रुपियाँ आम्दानी गरेको थियो भने नेपालीले विदेश भ्रमणमा कुल ७९ अर्ब ५९ करोड ६५ लाख रुपियाँ खर्च गरेका थिए । यसरी पर्यटनको वासलातमा नेपालले कुल १२ अर्ब ५० करोड १९ लाख रुपियाँ घाटा बेहोरेको देखिन्छ । पहिला देश घुम्ने वातावरण बनाउनु पर्छ । पर्यटनलाई आर्थिक विकासको मूल मेरुदण्ड मानेर प्रचारप्रसार गर्नु पर्छ । अनौपचारिक क्षेत्रका कृषि तथा उद्योगलाई अब पर्यटनमा जोड्नु पर्छ । कृषिमा भारतीय र उद्योगमा चिनियाँ उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । भावनामा बगेर कुहिनोले पहाड फोर्छु भन्नु बुद्धिमानी होइन । यो बजार खोज्ने युग होइन, बजार निर्माण गर्ने युग हो । नेपाली कृषि र उद्योगको बजार नेपाली पर्यटन उद्योग हो । 

भविष्य

नेपालमा घरबास पर्यटनको महत्व बढ्दै गएको छ । मानिसहरू आर्थिक मन्दी, वातावरणीय चिन्ता र स्वास्थ्य सुरक्षाका कारण लामो यात्राभन्दा घरबास पर्यटनलाई प्राथमिकता दिन थालेका छन् । आफ्नो भूगोल, इतिहास, सभ्यता र संस्कृतिप्रति ज्यादै चनाखो हुन थालेका छन् । आफ्नो पहिचानको खोज अनुसन्धान, संरक्षण, तथा प्रवर्धन गर्न गाउँ गाउँ घुम्न थालेका छन् । प्रविधिको विकासले घरमै विभिन्न मनोरञ्जनात्मक गतिविधि उपलब्ध गराएको छ, जसले घरबास पर्यटनलाई अझ बढी आकर्षक बनाएको छ । हाल नेपालका ६८ जिल्लामा लगभग एक हजार वटा होमस्टे सञ्चालनमा छन् तर दर्ता गर्ने, अभिलेख राख्ने स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारी संयन्त्र नभएकाले वास्तविक तथ्याङ्क उपलब्ध हुन सकेको छैन । नेपालका ८० प्रतिशत घरबाट हिमाल देखिन्छ । त्यसैले ८० प्रतिशत घरलाई होमस्टेमा रूपान्तरण गर्न सकिन्छ । चीन तथा भारतका एक प्रतिशत जनता नेपाल घुम्न निम्ता गर्न सके नेपालीको कायापलट हुन्छ । आफ्नो बारीको अग्र्यानिक उत्पादनको बजार खोज्न कतै जानु पर्दैन । घरमै आएर पर्यटकले खाने छन् । हस्तकलाले निर्मित कोसेली घरबाटै किनेर साथमा लग्ने छन् । यसरी हाम्रा कृषि ‘कृषि पर्यटन’ मा र हाम्रा उद्योग ‘हस्तकला पर्यटन’ मा रूपान्तरित हुने छ । हाम्रा गाउँ गाउँ घर घरमा विश्वभरिबाट पर्यटक आउने छन् । घर सफा राख्न खर्च लाग्दैन । पर्यटन विकासको लहर चलाउन सक्नु पर्छ । त्यसपछि किसानले कहिल्यै पनि आफ्नो उत्पादन सडकमा फाल्नु पर्दैन । 

निष्कर्ष 

घरबास पर्यटनले मानिसलाई आराम, बचत र पुख्र्यौली परिवारसँग समय बिताउने अवसर प्रदान गर्छ । यसले स्थानीय अर्थतन्त्रमा भरपुर योगदान पु¥याउँछ । तथापि, यसका केही चुनौती छन् तर सही योजना र दृष्टिकोणले घरबास पर्यटनलाई सफल र आनन्ददायक बनाउन सकिन्छ । घरबास पर्यटनले मानिसको जीवनशैलीमा सन्तुलन र सन्तोष ल्याउन मद्दत गर्छ । हरेक घरलाई पर्यटकीय होटेल र हरेक घरका जनतालाई आफ्नै घरमा उत्कृष्ट रोजगारी प्रदान गर्न सकिन्छ । अबको अर्थतन्त्रको मुख्य आधार पर्यटन हुनु पर्छ । कृषि अब कृषि पर्यटन, हाइड्रो अब हाइड्रो पर्यटन, उद्योग अब हस्तकला पर्यटनमा रूपान्तरित हुनु पर्छ । दैनिक लाखौँ पर्यटक भित्र्याउन सबै मित्र राष्ट्रहरूलाई राष्ट्रिय आह्वान गरे पुग्छ । विश्वभरि छरिएर रहेका नेपालीलाई ‘नेपाली राष्ट्रिय पर्यटन दूत’ घोषणा गरिदिए पुग्छ । त्यसपछि आउने ती लाखौँ पर्यटक नै हाम्रो उत्पादनको बजार हुने छ । बजार खोज्नु पर्दैन, आफैँ सिर्जना हुन्छ । हरेक घर स्वच्छ सुन्दर पर्यटकीय होटेल नै बन्ने छन् । नेपालको आर्थिक विकासले नयाँ मोड लिने छ । केवल सानो सोच बदले पुग्छ । पर्यटनको मर्म बुझिदिए पुग्छ । जय घरबास ! जय पर्यटन !