• ७ कात्तिक २०८१, बुधबार

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतम

काठमाडौँ, जेठ ३२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले नेपालमा सङ्ख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि मापदण्ड बनाउनुपर्ने पनि बताउनुभयो । उहाँले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताउनुभयो ।

‘‘बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरुबिचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ । त्यो बजेटले बोल्ने कुरा हो । मन्त्रीहरु बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरु भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहीँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ । टुक्रे बजेटलाई प्रश्रय नदिऔँ । यतिधेरै टुक्रे बजेटहरु विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो । मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कत्ति पनि योगदान दिन सक्दैन । हामीले भुटानमा जस्तो सङ्ख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ ।’’

नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवर्द्धन नहुने उहाँको भनाइ छ । सांसद गौतमले सङ्ख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताउनुभयो ।

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पुर्‍याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताउनुभयो । उहाँले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताउनु भयो ।

‘‘नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरु हुन् । प्राकृतिक सम्पदाहरु हुन् । यहाँका संस्कृतिहरु हुन् । यदि यही बचाउनुपर्ने हाम्रो सम्पत्ति एक रुपियाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरु भित्र्याएर नेपालको पर्यटन प्रवर्द्धन हुन्छ ?,’’ सांसद गौतमले भन्नुभयो, ‘‘यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्‍याउँछ ? यसले हामीलाई कहाँ पुर्‍याउँछ ? त्यही भएर संख्यामा कति पर्यटक आए भन्ने किसिमको गणनागर्ने छोड्दिनुस् । यदि साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्र्याउनुपर्छ । त्यसका लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्‍यो ।’’