• ७ कात्तिक २०८१, बुधबार

खच्चरको उद्धारमा साहसिक काम गर्ने दुई प्रहरी पुरस्कृत

blog

शिवराज ढुङ्गाना 

अछाम, जेठ ३२ गते । चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो । 

उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ भई उल्लेखनीय कार्य सम्पन्न गरेको भन्दै दुई जनालाई सम्मान गरेको अछाम प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । ‘हामीले पनि सम्मान गर्न भनेका थियौ, प्रदेशबाटै दुई जनालाई सम्मान गरिएको हो ।’ निरीक्षक साउँदले भन्नुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गर्नुभएको हो । 

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा अड्केका खच्चरलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो । 

करिब ८ घण्टा पुलमा फसेका खच्चरलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए । अन्यलाई उद्धार गरेर अहिले उपचार भइरहेको बताइएको छ ।