मकवानपुर समाचारदाता
हेटौँडा, जेठ ३२ गते । केही दिनयता हेटौँडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेको भन्दै हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन बिहीबारबाट दुई दिनका लागि बन्द गरेको छ । उपमहानगरपालिकाका शिक्षा निर्देशक सीताराम कोइरालाले सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहज भएको भन्दै केही दिन विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध भई आएकाले बिदा दिने निर्णय गरेको बताउनुभयो ।
बर्खे बिदाबाट कट्टा हुने गरी बिहीबार र शुव्रmबार बिदा दिने निर्णय उपमहानगरपालिकाले गरेको हो । सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेसरी, प्रारम्भिक बाल विकास केन्द्रको पठनपाठन बन्द हुने भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको पठनपाठन पनि दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न समस्या भएको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय व्यवस्थापन समितिले बिहीबार र शुक्रबार विद्यालय बिदा दिने निर्णय गरेको जनाएको छ ।
उता गर्मी बढेर पठपाठनमा असहज भएपछि मकवानपुरका कतिपय विद्यालयले बिहानी कक्षा सञ्चालन गरेका छन् । गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन गरेका विद्यालयले कक्षा सुरु हुनुपूर्व नियमित रूपमा गरिँदै आएको प्रार्थना र पिटी कक्षासमेत बन्द गरेका छन् । गर्मी बढेसँगै स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको छ ।
सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ ।
कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई बालबालिका घरबाट विद्यालय आउन तथा पठनपाठन गर्न कठिनाइ भएकाले जेठ ३१ देखि असार ५ गते बुधबारसम्म एक साताका लागि गर्मी बिदा दिइएको जनाएको छ । उक्त निर्णयसँगै पालिकाभित्रका ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालयमा बिदा दिइएको बताउँदै गर्मी बिदा बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा गरिएको कार्यवाहक नगरप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक समाचारदाताका अनुसार अत्यधिक गर्मी बढ्न थालेपछि सिन्धुपाल्चोकका विद्यालयमा बिदा दिन थालिएको छ । सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माध्यमिक विद्यालयले सोमबारदेखि शुव्रmबारसम्मका लागि बिदा दिएको छ ।
विद्यालयका सहायक प्रधानाध्यपक हर्ष तामाङका अनुसार गर्मीले पठनपाठनमा समस्या भएपछि बिदा दिइएको जानकारी दिनुभयो । वार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरी विद्यालय बिदा दिएको उहाँले थप्नुभयो ।
यसै गरी हिमाली क्षेत्र अन्तर्गतका विद्यालयहरू, भोटेकोशी, सुनकोशी, इन्द्रावती, ब्रह्मायणी नदीको एक सय मिटरमाथि उचाइमा रहेका विद्यालयमा उच्च गर्मी बढेपछि बिदा दिने विद्यालयले जनाएका छन् । गर्मीका कारण छात्रछात्रालाई वाक वाक आउने, रिङ्गटा लाग्ने, सुत्ने, झोव्रmाउनेलगायतका समस्या देखिन थालेको विद्यालयले जनाएका छन् । अहिले सिन्धुपाल्चोकमा ३६ डिग्री तापक्रम छ । दिनहुँ तापक्रम बढ्दै गएको छ ।