काठमाडौँ, जेठ ३१ गते। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले एमालेमाथि आक्रमण गरेको बताउनुभएको छ। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताउनुभयो। कानुन, नियम बिना बलजफती बिक्री गरेर गिरिबन्धु टी–स्टेटको जग्गा बेचेका अहिले खान नपाएको रिसले कराइरहेको उहाँको आरोप छ। उहाँले वैचारिक सङ्घर्ष गर्न नसक्नेले एमालेमाथि प्रहार गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हामी देशको निर्णय गर्ने ठाउँमा, निर्णायक ढङ्गले राष्ट्रको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता, हाम्रो स्वतन्त्रता, हाम्रा राष्ट्रिय हित, त्यसको रक्षा गर्नसक्ने गरी, देशमा सुशासन गर्नसक्ने गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनसक्ने गरी भिजिनरी, देशभक्त जनपक्षीय, जनताको शक्तिलाई राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न चाहन्छौँ। यही कुरा हुन नदिनका लागि हाम्रो बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झुटो बोल्ने यस्ता काम भएका छन्। गिरिबन्धु टी–स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौँ, कानुन बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्यो। यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक सङ्घर्ष गर्न सक्दैनन्। देश बनाउने कसरी त्यो आइडिया छैन। अनि एमालेलाई बदनाम गर्ने। यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि। एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि।’’
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताउनुभयो। उहाँले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याएर देशको विकास गर्नका लागि रहेको बताउनुभयो।