• १२ साउन २०८१, शनिबार

‘सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ’

blog

नेकपा (एमाले)का सचेतक सुनीता बराल

काठमाडौँ, ३१ गते । नेकपा (एमाले)का सचेतक सुनीता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ । नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सचेतकले ओपिडी काउण्टर बढाएर भए पनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गर्नुभयो । उहाँले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य बीमा गरेका नागरिकहरुले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गर्नुभयो ।

‘सचेतक बरालले भन्नुभयो, ‘आज हाम्रा सर्वसाधारण नागरिकहरु सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउण्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ ।’’

उहाँले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढङ्गले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सचेतक बरालले भन्नुभयो, ‘‘स्वास्थ्य बीमा गरिएका नागरिकहरुले, बिरामीहरुले त्यो बीमा गर्नेकुरा अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिन्छ, यो व्यवहारलाई अन्त्य गर्ने र हाम्रा सरकारी अस्पतालका लाइन छोट्याउने, यो संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढङ्गले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’’