• ९ असार २०८१, आइतबार

‘नेपाल र कोरियाबिच जनस्तरको सम्बन्ध छ’

blog

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङलाई संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिर: कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३० गते । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङले नेपाल र दक्षिण कोरियाबिच जनस्तरको सम्बन्ध रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन पश्चात् बुधबार उहाँले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सो कुरा बताउनुभएको हो । 

उहाँले नेपाल र कोरिया दुई देशबिच स्थापना भएको कूटनीतिक सम्बन्ध ५० औँ वर्षगाँठमा हिँडिरहेको अवसरमा कोरियाको सरकारी निकायबाट सञ्चालित पत्रपत्रिकाहरूसँग पनि समन्वय गर्न पहल भइरहेको बताउनुभयो । 


उहाँले एकसय २४ वर्ष इतिहास बोकेको गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीमा नेपालको राजनीतिक अवस्था, इतिहास, संस्कृतिलगायतका विषयमा अध्ययन गर्ने अवसर मिलेको बताउनुभयो । प्रदर्शनीमा राखिएका तस्बिरले नेपालको इतिहास, विगतबाट प्रजातान्त्रिकीकरणका लागि बगेको पसिना एवम् यसका लागि खेलेको भूमिकाको अनुभव भएको भनाइ राख्नुभयो । 


उहाँले अन्य मुलुकको तुलनामा नेपाल र कोरियाबिच जनस्तरको सम्बन्ध धेरै अगाडि बढेको बताउनुभयो । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङको भ्रमणले नेपालको संस्कृति, समाज बुझ्नका लागि सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले गोरखापत्र राज्यको मिडिया भएको हिसाबले ज्ञान आदानप्रदानको सवालमा थप छलफल एवम् अध्ययन र द्विपक्षीय समन्वयको दायरा बढाउन तयार रहेको बताउनुभयो ।  

यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रका प्रकाशनलाई आम नागरिकको पहुँचमा सहजरुपमा लैजान तथा समय सुहाउँदो बनाउनका लागि डिजिटल अर्काइभको कार्य भइरहेको जानकारी दिनुभयो । दुई देशको सम्बन्धको सन्दर्भमा राज्यको मिडिया भएको हिसाबले स्वाभाविकरूपमा गोरखापत्रको जिम्मेवारी बढी भएको उहाँको भनाइ छ ।


उहाँले भन्नुभयो, “राज्यको मिडियासँग सहकार्य हुने वातावरणका लागि इतिहास बोकेको संस्था गोरखापत्र छ । अनुभव आदानप्रदान सँगसँगै अरू क्षमता विकासको काममा पनि महामहिमज्यूमार्फत त्यस्तो सहकार्यको वातावरण बन्न सक्यो भने हामी थप छलफल गर्न तयार छौँ । त्यो आग्रह पनि गर्न चाहन्छौँ ।”


अवलोकनका क्रममा कला तथा फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईँले ऐतिहासिक एवम् पुरानो तस्बिरको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा ‘दि राइजिङ नेपाल’ दैनिकका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाको पनि सहभागिता थियो । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङलाई संस्थानका कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले मायाको चिनो प्रदान गर्नुभयो ।

भिडियोमाः मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।