• ६ असार २०८१, बिहिबार

समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहेका छौँ: अध्यक्ष नेपाल

blog

समाजवादी प्रेस संगठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ ३० गते ।
 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले, जनता समाजवादी पार्टीसहितलाई समेटेर समाजवादी मोर्चालाई अघि बढाउन चाहेको उल्लेख गर्नुभएको छ । नेपालमा समाजवादका पूर्वाधार निर्माण र त्यसतर्फको यात्राका लागि मोर्चा आवश्यक पर्ने उहाँले औँल्याउनुभयो ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“हामीले समाजवादी मोर्चा नयाँ तरिकाले अघि बढाउन चाहेका छौँ । विभिन्न घटक र समूहसँग कुरा भएको छ । पाँच वटा घटक एक ठाउँमा हुन तयार छन्,” उहाँले भन्नुभयो, “उपेन्द्र यादवको जसपालाई पनि ल्याउन खोजेका छौँ । एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन ।”

सत्ता गठबन्धनमा प्रधानमन्त्री हुने सहमतिबारे पत्रकारले सोधेको प्रश्नमा उहाँले आफू प्रधानमन्त्रीका लागि २४ घण्टा सोचेर नबस्ने टिप्पणी गर्नुभयो । उहाँले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको जनाउँदै अहिले पार्टीको महाधिवेशनमा केन्द्रित रहेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ । प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले निर्माण गरेको हो । माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन ।” अध्यक्ष नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजेको टिप्पणी गर्दै अहिलेको संविधान कसैले पनि उल्ट्याउन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ ।” अहिले पनि प्रतिगमनकारी शक्तिहरू सक्रिय रहेको जनाउँदै उहाँले परिवर्तनबाट नेपाली समाज पछाडि जान नसक्ने र प्रतिगमनकारीको सपना पूरा नहुने जनाउनुभयो ।

एकीकृत समाजवादी एकीकृत तरिकाले महाधिवेशनको तयारीमा रहेको जनाउँदै उहाँले आफ्नो पार्टी फुटाउने कसैले कल्पना पनि नगरे हुने चेतावनी दिनुभयो । “पार्टीमा आयाराम र गयाराम भइरहन्छन् । हाम्रोमा गयारामभन्दा आयाराम बढी छन्,” उहाँले थप्नुभयो, “तर पार्टी फुटाउने कोसिस कसैले गरेको छ भने त्यो सफल हुँदैन ।” अध्यक्ष नेपालले बाहिर एकीकृत समाजवादी फुट्छ भन्ने हल्ला चलाइएको जनाउँदै भित्र त्यस्तो कुनै लक्षण र सम्भावना नभएको दाबी गर्नुभयो ।