• १४ असार २०८१, शुक्रबार

किशोरीका लागि लगानी बढाउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

blog

गोरखापत्र अनलाइन

नवलपुर, जेठ ३० गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नवलपुरको देवचुली नगरपालिका –१० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपछि किशोरी र बालबालिकासँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

त्यस अवसरमा उहाँले किशोरीमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको बताउनुभयो । ‘बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’ मन्त्री चौधरीले भन्नुभयो, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’

मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवनउपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताउनुभयो । खासगरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उहाँको भनाइ छ । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले बताउनुभयो ।

 ‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेषगरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउन ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुनेगरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ । हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’

त्यस क्रममा नवलपुरका किशोरीले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरूको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको बताउनुभयो ।  


त्यस अवसरमा किशोरीहरू र बालबालिकाहरूले बालबालिकाका विभिन्न सवालहरूमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहभागीहरूले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने, किशोरीहरूको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्ध गराइदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्यका लागि मनोपरामर्शकर्ताहरूको व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरूको लागि छुट्टै डेस्कको स्थापना गरिनुपर्ने, गरिब र सीमान्तकृत बालबालिकालाई राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सबै बालबालिकाले पुग्ने गरिएको लागि व्यवस्थापन गरिनुपर्ने लगायतका सवालहरू मन्त्री चौधरीसामु राख्नुभएको थियो ।  

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसँगको सहयोगमा किशोरीहरू र बालबालिकाहरूको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक यस्तो खालको संरचना निर्माण थालनी गरिएको भन्दै उहाँले जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्न अध्ययन केन्द्रको निर्माण गरिरहेको बताउनुभयो ।