• १४ मंसिर २०८१, शुक्रबार

भारतीय दलाल भनेकोप्रति डा. भट्टराईको आपत्ति

blog

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । फाइल तस्बिर

काठमाडौँ, जेठ ३० गते। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाउनुभएको छ। 

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। 

पार्टी स्थापना दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर गर्नुभयो। 

उहाँले आफूले राजतन्त्रको अन्त्य गर्ने सङ्कल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पार्नुभयो। अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढ्नुपर्ने प्रस्ताव समेत गर्नुभयो। दलहरूले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उहाँको जिकिर छ।