• १३ साउन २०८१, आइतबार

विनयी त्रिवेणी गाउँपालिकाको बेरुजु प्रतिशत कम

blog

मीना कंडेल

कावासोती, जेठ ३० गते । नवलपुरको कावासोती नगरपालिकाको बेरुजु बढेको छ । लेखापरीक्षणबाट आर्थिक वर्ष २०७९-०८० मा रु.४ करोड ८० लाख ७३ हजार बेरुजु देखिएको छ । सो सम्बन्धमा रु. ३८ लाख ६९ हजारको प्रतिक्रिया प्राप्त नभएकोमा बाँकी बेरुजु असुल गर्नुपर्ने, प्रमाण कागजात पेस गर्नुपर्ने रु.२ करोड ४ लाख ९८ हजार,  नियमित गर्नुपर्ने रु. २ करोड ३७ लाख ६ हजार रहेको छ । 

कावासोती नगरपालिकामा गत वर्षसम्म रु. ४ करोड १४ लाख ३ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु ८ करोड ९४ लाख १२ हजार छ । जिल्लामा सबैभन्दा कम बेरुजु विनयी त्रिवेणी गाउँपालिकामा ०.५९ प्रतिशत रहेको देखिन्छ भने सबैभन्दा धेरै हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । त्यसैगरी गैँडाकोट नगरपालिका ०.७१, मध्यविन्दु नगरपालिका ०.९२, देवचुली नगरपालिका १.१०, बौदीकाली गाउँपालिका १.१८, बुलिङटार गाउँपालिका १.२७ र कावासोती नगरपालिकामा १.७५ प्रतिशत बेरुजु रहेको देखिएको छ ।

नवलपुर जिल्लाका आठ वटै पालिकामध्ये विनयी त्रिवेणी गाउँपालिकाको बेरुजु प्रतिशत सबैभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९-८० मा विनयी त्रिवेणी गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।

विनयी त्रिवेणीको कुल लेखापरीक्षण रकम एक अर्ब ५८ करोड, २८ लाख, ८१ हजार मध्य ९३ लाख ८३ हजार बेरुजु कायम गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा विनयी त्रिवेणी गाउँपालिकामा एक अर्ब ४४ करोड,३९ लाख ,३७ हजार लेखापरीक्षण गर्दा तीन करोड, ५९ लाख, ३७ हजार बेरुजु कायम गरेको थियो । यो कुल रकमको २.४९ प्रतिशत हुन आउँछ ।

आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुराई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनुपर्दछ भनी उल्लेख गरेको छ ।