• २४ असार २०८२, मङ्गलबार

गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन् : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ ३० गते । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरू खुलेका बताउनुभएको छ । गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले पूर्वाधार विकास, जलविद्युतलगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताउनुभयो ।

“गणतन्त्र आएपछि केही पनि भएको छैन भन्ने जुन नकारात्मक भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न प्रदर्शनमा राखिएका केही नमुना तस्बिरले महत्त्वपूर्ण सामग्रीका रूपमा काम गरेको छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “गणतन्त्र आएपछि देशमा निरन्तर बहुआयामिक परिवर्तनका द्वारहरू खुलेका छन्, विकासका प्रयासहरू भएका छन्, कुनैमा नजिता प्राप्त भएको छ, कुनै निर्माणाधीन अवस्थामा छन् ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना तथा विकास गर्न सकिन्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताउनुभयो । उहाँले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्बिरले देखाएको बताउनुभयो । “राससले आयोजना गरेको ‘गणतन्त्रपछिको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक फोटो प्रदर्शनी निकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँका तस्बिर हेरेपछि नेपाल विकासको चरणमा छ भन्ने स्पष्ट हुन्छ । रासस