• २ साउन २०८१, बुधबार

मेलामा पाइएनन् दक्ष जनशक्ति

blog

काठमाडौँ, जेठ ३० गते । सरकारले देशभरि श्रमाधान रोजगार मेला सञ्चालन गरेको छ । सातै वटा प्रदेशमा विभिन्न समयमा आयोजना भएको मेलामा रोजगारदाताले रोजगारी दिने र सिप नभएकालाई तालिम पनि दिने गरेका छन् । 

यसले थोरै भए पनि रोजगारी समस्या समाधान गर्नुका साथै बिदेसिने सङ्ख्यामा कमी आउने विश्वास गरिएको छ तर मङ्गलबारदेखि ललितपुरको पाटन क्याम्पसमा सुरु भएको मेलामा रोजगारदाताले खोजेका जनशक्ति नपाएको खबर प्राप्त भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय, ललितपुर महानगरपालिकाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासङ्घको संयोजकत्व मङ्गलबारदेखि ललितपुरको पाटन क्याम्पसमा मेला सुरु भएको हो । 

मेलाको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गर्नुभयो । मेलामा उपत्यकाका विभिन्न रोजगारदाता संस्थाले चिकित्सकदेखि सरसफाइकर्मीसम्मका पदको आवेदन मागसहितका स्टल राखेका छन् तर आवश्यक जनशक्ति मेलाको पहिलो दिनमा प्राप्त गर्न नसकेको रोजगारदाताहरूले बताएका छन् । नेपाल मेडिकल व्यवसायी सङ्घको स्टलमा धेरैले अवलोकन गरे पनि यस संस्थालाई चाहिएका चिकित्सक, नर्स, ल्याब टेक्नेसियनलगायतको जनशक्ति नआएको जनाएको छ । 

सिएन मिडियालाई ग्राफिक्स डिजाइन गर्ने १५ जना युवा जनशक्ति तत्कालै चाहिएको छ । उक्त स्टललाई धेरैले अवलोकन गरे तर आवश्यक जनशक्ति र यसमा इच्छुक पाइएको छैन । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाललाई विभिन्न पद गरेर आठ हजार ३५० जना जनशक्ति मागसहित स्टल राखिएको छ । जसमा कटिङ, सिलाइ, पेस्टिङ, फिनिसिङ, डिजाइनरलगायतको माग रहेको छ तर अहिलेसम्म यससँग सम्बन्धित सिप भएको जनशक्ति पाइएका छैनन् । मेलामा निजी र सरकारी क्षेत्रका ८० वटा स्टल राखिएका छन् । 

मन्त्री श्रेष्ठले मेलाले रोजगारीको अवसर मात्रै नभई करिअर काउन्सिलिङ गर्नुका साथै उद्यमी बन्न चाहनेका लागि सहज प्रक्रियाको जानकारी पनि दिइने उहाँले बताउनुभयो । यस्ता खालका मेला अति आवश्यक रहेको र शिक्षा मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलिङबाट सुरु गर्न लागेको उहाँले बताउनुभयो । मेलामा कुन रोजगारीका लागि कस्तो खालको शिक्षा तथा सिपको आवश्यकता पर्छ भन्ने विषयमा पनि छलफल हुने जानकारी दिँदै उहाँले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेसनल तालिम सञ्चालन गर्न सकिने भन्दै शिक्षामन्त्री श्रेष्ठले भन्नुभयो, “अन्तरमन्त्रालयको समन्वयमा देशभित्रै रोजगारी सिर्जना तथा स्वरोजगारी बन्न चाहने युवालाई प्रेरित गर्न सक्छौँ र यसमा सहकार्यका लागि हामीले छलफल पनि चलाइरहेका छौँ ।” 

 कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सिप र कामको महत्व पनि बुझाउने बताउनुभयो । मेलाको उपलब्धि आजको भोलि नै नदेखिन सक्छ तर यसले दीर्घकालीन रूपमा सकारात्मक परिणाम देखाउने उहाँले बताउनुभयो । यो मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर बिदेसिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर महानगरपालिका छनोट गरेकोमा खुसी व्यक्त गर्नुभयो । दैनिक एक हजार पाँच बढी युवा वैदेशिक रोजगारीमा गएको अवस्थामा यस्ता खालका मेलाले थोरै भए पनि नेपाली युवालाई देशभित्र रोकेर राख्न सकियो भने यसलाई ठुलो उपलब्धिका रूपमा लिन सकिने उहाँको भनाइ छ । 

स्थानीय सरकारले दिने सिप तालिममा धेरै डुब्लिकेसन भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ललितपुर महानगरले आउँदो वर्षदेखि महानगरले उपलब्ध गराउने तालिमलाई स्मार्ट बनाउँदै लग्दै छौँ, जसले जुन तालिम लिएको छ त्यो अनुसारको स्वरोजगार हुनका लागि बिउ पुँजी उपलब्ध गराउँ छौँ ।” जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशमा बुधबार सम्पन्न हुने छ ।