• ३२ जेठ २०८१, शुक्रबार

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिको गणना सुरु

blog

घोडाघोडी तालमा चरागणनामा खटिएको संरक्षणकर्मीको समूह । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), जेठ २९ गते ।
जैविक विविधताले महत्त्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको छ । चरा संरक्षण नेटवर्कको आयोजनामा मङ्गलबारदेखि घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातीको गणना सुरु गरिएको हो ।

घोडाघोडी ताल सूचक प्रजातीको रुपमा हरीहाँस, मगरगोही र जंगली धानलाई आधार मानेर सन् २००३ मा रामसार साइडमा सूचीकृत भएको हो । चरसंरक्षण नेटवर्कका कार्यबाहक अध्यक्ष नवराज न्युरेले घोडाघोडीमा जाडो र गर्मी दुई सिजनमा चरा गणना हुँदै आएको जनाउँदै यसपटक सूचक प्रजातीको गणना सुरु गरिएको बताउनुभयो ।

रामसार साईडमा घोडाघोडी सूचीकृतहुदा हरिहाँसको सङ्ख्या एसियामै भएको सङ्ख्याको एक प्रतिशत अर्थात् एक हजार सङ्ख्यामा हरिहाँस रहेको अभिलेख छ । घोडाघोडीमा अन्य चराहरुको सङ्ख्या घटेसँगै हरिहाँसको सङ्ख्या पनि घट्दै गएको गणनाको रेर्कडमा उल्लेख छ ।

संरक्षणकर्मी रामबहादुर चौधरीले चोरीसिकारी र असुरक्षित वासस्थानका कारण हरिहाँसको सङ्ख्या घट्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीनवटा सूचक प्रजातीमध्ये मगरगोहीको सङ्ख्या बढ्दै गएको छ । जङ्गलीधान पनि मासिएको छैन । तर हरिहाँसको सङ्ख्या घट्दै गइरहेको छ । ३५० देखि ४०० को हाराहारीमा हरिहाँसको सङ्ख्या रहेको विगतको रेर्कडमा उल्लेख छ । यसपटक गणना .पछि एकिन तथ्याङ्क आउने छ ।”

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले सूचक प्रजाती संरक्षणका लागि चोरी सिकारी मुख्य चुनौती रहेको औँल्याउदै नियन्त्रणका लागि  आवश्यक सहयोग रहने बताउनुभयो । गत माघमा घोडाघोडीमा रैथाने र पाहुनागरी एकहजार २३१ सङ्ख्यामा जलपन्छी गणना भएको थियो ।

नेपाल पन्छी संरक्षण संघका फिल्ड मेनेजर तथा चराविद् हिरुलाल डंगौराले गतवर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको जनाउँदै सङ्ख्या घटबढ भइरहने उल्लेख गर्नुभयो । घोडाघोडी सिमसार क्षेत्रमा पाइने पन्छीहरुमध्ये ७० प्रजातीका जलपन्छी रहेका छन् । संरक्षणकर्मीहरुका अनुसार पन्छीको सङ्ख्यामा फेरबदल हुनु पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन मुख्य कारण हो ।

चराविदका  अनुसार सन् २००३ मा रामसार साईडमा सूचीकृत हुँदा घोडाघोडी क्षेत्रमा २० हजारको सङ्ख्यामा जलपन्छी रहेको पाइएको थियो । दुई शकको अवधिमा घोडाघोडीमा जलपन्छीको सङ्ख्या एक हजार २३१ मा सिमिति भएको छ । समग्रमा घोडाघोडी सिमसार क्षेत्रमा दुई दशक अवधिमा जलपन्छीको सङ्ख्या घटेको पाइएको छ ।

घोडाघोडी क्षेत्रलाई रामसारमा सूचीकृत गर्ने बेला सरकारले पेस गरेको प्रतिवेदनमा यस क्षेत्रमा रैथाने र पाहुना गरी २० हजार जलपन्छी रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा मात्र पाइने चरामध्ये हरिहाँस, बगाले सीमकुखुरा र नादुल हाँसले घोडाघोडीमा प्रजनन गर्ने उक्त प्रतिवेदनमा उल्लेख थियो । सन् १९८७ देखि बर्षेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । गणनाले जलपन्छीको अवस्था सङ्कट उन्मुख देखाएको छ ।

वर्षेनी गणनामा संलग्न चराविद्का अनुसार रैथानेमा नट्टा हाँस २०१८ पछि देखिएको छैन । आगन्तुकमा कैले टाउके हाँस, बिजुला गैरी हाँस, सुनजुरे हाँस, सिन्दुरे हाँस, खडखडे हाँस, हरियो टाउके हाँस गत वर्ष नदेखिएका चरा यो वर्ष देखिएको चराविद् डंगौराले बताउनुभयो । उहाँका अनुसार सुइरेपुछ्रे हाँस २०१४ यता घोडाघोडीमा देखिएको छैन । पाहुना चराको रुपमा आउने मरुलको सङ्ख्यापनि पहिलाभन्दा निक्कै कम देखिन थालेका छन् ।

नेपाल पन्छी संरक्षण संघका अनुसार घोडाघोडीमा जलपन्छी, वन क्षेत्रमा बस्ने चरा, घाँसे मैदानमा हुने चरा, खेतबारी र खुला स्थानमा बस्ने गरी तीन सय ८० प्रजातिका चरा रहेको अभिलेख छ ।