• १४ मंसिर २०८१, शुक्रबार

बेवारिसे साधनको बिक्री गर्न सरकारसँग माग

blog

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे

काठमाडौँ, जेठ २९ गते । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले देशभर बिग्रेर बसेका सवारी साधनहरूको तत्काल बिक्री गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धी विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभयो । सांसद गैरेले वातावरणलाई प्रदूषित गर्ने ढङ्गले अर्बौँको सवारी साधनहरूलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकार कार्यालयमा दर्जनौँ गाडीहरू बेवारिसे अवस्थामा देखिन्छन् । त्यसले वातावरण प्रदूषण र सुन्दरतामा र अर्बौँको सम्पत्ति क्षति भइरहेको छ । यो देशको अर्बौँको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो ? सभामुख महोदय । म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु ।,’’  सांसद गैरेले भन्नुभयो, ‘‘देशभरि बिग्रेर बसेका यातायातका साधनहरू तत्काल मूल्याङ्कन गरी, त्यसको बिक्री गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसाबले सरकारको प्रस्तुतिका लागि रुलिङ होस । म माग गर्न चाहन्छु ।’’

सांसद गैरेले सरकारी कार्यालयलाई बिग्रेर सवारी साधनहरू थन्क्याउने ठाउँको रूपमा विकास गर्न नहुने पनि बताउनुभयो ।