• २४ असार २०८२, मङ्गलबार

फेरियो अतिरिक्त क्रियाकलापको शैली

blog

चरीकोट समाचारदाता 

चरीकोट, जेठ २९ गते । पहिले पहिले शुक्रबार हाफ छुट्टी (आधा समय) हुने भनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने गर्दथ्यो । विद्यार्थी कम हुने मात्र होइन, विद्यालयमा आएका विद्यार्थी पनि पढाइ सकिनेबित्तिकै घरतिर फर्कन्थे ।

पढाइ नभएको खाली समयमा शिक्षकले विद्यार्थीलाई पानी बोकाउने, विद्यालय वरपरको झार उखेल्ने, कक्षाकोठा सफा गर्न लगाउने जस्ता सामान्य काम गर्ने गरिन्थ्यो । कार्यक्रम गर्ने गरियो भने हाजिरीजवाफ, लोकगीत तथा नृत्य गराउने गरिन्थ्यो । यसैलाई त्यतिबेला अतिरिक्त क्रियाकलाप मानिन्थ्यो तर हिजोआज जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीको अतिरिक्त क्रियाकलापको शैली पनि बदलिएको छ । पछिल्लो समयका विद्यार्थीको रुचिलाई समेत ध्यानमा राख्दै र हराउँदै गएका सिपलाई जगेर्ना गर्ने उद्देश्यले फरक खालका अतिरिक्त क्रियाकलाप सुरु गरिएको छ । 

तामाकोशी गाउँपालिका–४, मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयमा ३०४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार खड्काले भन्नुभयो, “विद्यार्थीहरूबिच अतिरिक्त क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ ।” उहाँले प्रायः खेलकुद, साहित्य, मनोरञ्जन, सरसफाइ जस्ता काममा प्रत्येक शुक्रबार विद्यार्थी संलग्न हुने बताउनुभयो । गएको शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत दुनाटपरी बनाउने, उधारिएको कपडा सिलाउने, टनेल बनाउनेलगायतका क्रियाकलाप गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका छात्रा विद्यार्थीलाई दुनाटपरी बनाउने सिप प्रदान गरिएको भन्दै उहाँले विद्यार्थीलाई सामान्य उध्रेको सिलाउने, टाँक लगाउने र कक्षा १० मा अध्ययनरत छात्रलाई टनेल बनाउने सिप प्रदान गरिएको खड्काले बताउनुभयो ।

पहिले अतिरिक्त क्रियाकलापमा सहभागी हुनु पर्छ भनेर भाग्ने विद्यार्थी अहिले आफैँले आयोजना गर्ने गरेको विद्यालयले जनाएको छ । उहाँले भन्नुभयो, “किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने क्रियाकलापमा विद्यार्थी संलग्न हुन रुचाउँछन् ।” विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थी विद्यालयको पढाइ समयावधिका लागि पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको उहाँको भनाइ छ । 

अतिरिक्त क्रियाकलापले बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालयमा विद्यार्थी आकर्षित हुनुको कारणमध्ये अतिरिक्त क्रियाकलाप पनि एक हो ।”

विद्यार्थीलाई पढाइले मात्र दक्ष बनाउन नसकिने बताउँदै वडाध्यक्ष नारायण खड्का ‘सुरज’ ले अतिरिक्त क्रियाकलापमा दक्ष बनाउन सकियो भने योग्य नागरिकका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभयो ।