• १३ साउन २०८१, आइतबार

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

blog

खाद्यवस्तु । फाइल तस्बिर

काठमाडौँ, जेठ २८ गते । गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ ।

गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो । राष्ट्र बैङ्कका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत र मरमसलाको आठ दशमलव ९८ प्रतिशत छ । 

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको सात दशमलव २५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क सात दशमलव १३ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव २६, शिक्षाको पाँच दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको तीन दशमलव ४६ प्रतिशतले बढेको छ । 

त्यस्तै, सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ४८ प्रतिशतले घटेको छ । गत वैशाखमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ३०, तराईको चार दशमलव ३२, पहाडको चार दशमलव ७० र हिमालको चार दशमलव २२ प्रतिशत रहेको छ । रासस