• २१ असार २०८१, शुक्रबार

मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाधार क्षेत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । दैनिक रुपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो। 

गौतमका अनुसार जेठ १८ गतेदेखि पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको छ । तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ  । 

केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्रानहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्नेगरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।