अर्जुन काफ्ले
स्याङ्जा, जेठ २८ गते । पुतली बजार नगरपालिका १४, लामागेमा क्रसर नराख्न पुतली बजार नगरपालिकालाई उच्च अदालत पोखराले अल्पकालीन आदेश गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराको एकल इजलासले स्थानीय अग्निप्रसाद भण्डारीले दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।
निवेदकमा उल्लेखित स्थानमा क्रसर उद्योग स्थापना सम्बन्धी नगर्न, नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीका नाउँमा अल्पकालीन आदेश गरेको हो ।
पुतली बजार नगरपालिकाले लामा कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई अवैध पत्र मार्फत आँधिखोला दोहन गरी लामागेमा मापदण्ड विपरीत क्रसर राख्न अनुमति दिएको थियो । स्थानीयले क्रसर राख्दा मापदण्ड भित्र पुल, विद्यालय र घना बस्ती रहेको भन्दै विरोध जनाउँदै आएका थिए ।
पुतली बजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीलाई विपक्षी बनाई जारी गरिएको परमादेशमा १५ दिन भित्र आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आगामी असार ३ गते अन्तरिम आदेशको छलफल समेत हुने सोही पत्रमा भनिएको छ ।
विश्व बैङ्कको ऋण तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा निर्माण सामाग्री स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले आँधिखोला दोहन गर्न अनुमति दिएको पालिकाले जनाएको छ ।
खोलाबाट गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्न वातावरणीय परीक्षण गर्नुपर्नेमा दुई वर्ष गरिएको परीक्षण देखाउँदै पालिकाले खोलाबाट उत्खनन गरेका थियो । वातावरणीय परीक्षण गरेपछि दुई वर्ष सम्म सूचना प्रकाशन गरेर ठेक्का सम्झौता गरेर गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गरिसकेको छ ।
पालिकाले भने ठेक्का सम्झौता रहे पनि अझै नौ सय धन मिटर निकाल्न बाँकी रहेको भन्दै निकालेको बताएको छ ।