गुणबहादुर रोका
सुलीकोट, जेठ २७ गते। गोरखामा बोलेरो जिप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार गोरखा नगरपालिका–१० को १४ किलोमा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेश ३–०१–०२३ च ५७१७ नम्बरको बोलेरो र ग २३ प ७१४ नम्बरको स्कुटर ठोकिँदा स्कुटरमा सवार तनहुँ आँबुखैरनी गाउँपालिका–३ बस्ने ३३ वर्षीय युवराज गुरुङ र स्कुटरको पछाडि सवार आँबुखैरनीको ३ का शिवमगर गम्भीर घाइते हुनुभएको हो।
स्कुटर चालकको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्का घाइतेको खुट्टामा चोट छ।
घाइतेलाई १२ किलो चौकी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बोलेरो जिप चालक चितवन खैरनी गाउँपालिका – ७ बस्ने दीपक शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।