• १२ साउन २०८१, शनिबार

दुई वर्षभित्र बालविवाहमुक्त पालिका बनाउने विजयनगरकाे लक्ष्य

blog

बालविवाह निरुत्साहन गर्न पालिकामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलबस्तु, जेठ २७ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले दुई वर्षसम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले परिवारको सहमति र बालबालिका आफैंले गर्ने बाल विवाहलाई निरुत्साहन गर्न रणनीति निर्माण गरेको छ ।

तथ्याङ्क सङ्कलन गर्ने, जोखिममा रहेका समुदायको पहिचान गर्ने तथा समुदायमा विद्यालय, बाल क्लब, युवा क्लब, धर्म गुरु, आमा समूह, सामाजिक सङ्घ संस्था, प्रहरी प्रशासन र वडा कार्यालयलाई परिचालन गरी बालविवाहलाई निरुत्साहन गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।

पालिकाले बाल विवाह अन्त्य गर्नका लागि शिक्षा र जनचेतनामूलक कार्यक्रममा जोड दिएको छ । ‘छोरी बचाऊँ, छोरी पढाऊँ’ अभियान सञ्चालन गरी छोरीको जन्म भएमा १५ हजार रुपैयाँ बैङ्क खातामा जम्मा गर्दै आएको छ । बाल विवाह हुनबाट रोक्न र छात्रालाई माध्यमिक तह सम्म अध्ययन गराउन कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण, दलित छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

धार्मिक र सामाजिक परम्परागत प्रथाले बालविवाह हुने गरेको बताउँदै यसको अन्त्यका लागि गाउँपालिकाले सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो । बाल विवाह विरुद्धको अभियानलाई सफल पार्न पालिका र लुम्बिनी प्रदेश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रदेशस्तरीय रणनीतिको कार्यान्वयनसम्बन्धी सरोकारवालालाई अभिमुखीकरण गरिएको छ ।