• २ साउन २०८१, बुधबार

हाँसेर दबाइएका पीडा

blog

यतिबेला वैदेशिक रोजगारीमा जानेहरूका लागि आम्दानीका दृष्टिले दक्षिण कोरिया आकर्षणको केन्द्र बनेको छ । भर्खरै लिँदै गरेको भाषा परीक्षाका लागि मात्र एक लाख ४७ हजारको आवेदन परेको छ । तीमध्ये भाषा परीक्षामा उत्तीर्ण भएर प्रतिस्पर्धामा आउने १८ हजार भाग्यमानीले मात्र कोरिया जान पाउने छन् । परीक्षा इपिएस कार्यालय भैँसेपाटीमा धमाधम चलिरहेको छ । सोही परीक्षाका लागि आवेदन दिएकी मेरा एक आफन्तलाई जेठ ८ गते हुने परीक्षाका लागि परीक्षा केन्द्र देखाउन लगेको थिएँ । काठमाडाैँ पहिलो पटक आएकीले मेरा घरसम्म पुग्ने बाटो र गाडीको बारेमा जानकारी नभएकाले परीक्षा अवधिभर मैले कुरेर बस्नुपर्ने भयो । परीक्षा नसकुन्जेल कार्यालय अगाडिको खाजा होटलमा चिया/खाजा खाँदै समय बिताएर बसिरहेको थिएँ । 

होटलमा अगाडिको सिफ्टमा परीक्षा दिएर खाजा खान आउनेहरूको निकै भिडभाड थियो । परीक्षा राम्रो हुनेहरू निकै हाँसीखुसीका साथ गफ गर्दै खाजा खाइरहेका थिए भने परीक्षा बिग्रिएकाहरू भने पूरै तनावमय मुद्रामा कालोनिलो भएर खाजा के खाने भन्ने निर्णय लिन सकिरहेका थिएनन् । होटलवाला साहुनीले दुई÷तीन पटक सोधिरहँदासमेत उत्तर दिइरहेका थिएनन् । पूरै छटपटाहट, चिट्चिटाहट भइरहेको थियो । बेचैनी भइरहेको भान हुन्थ्यो । लाग्थ्यो–परीक्षा पास गर्नेले संसारै जिते । फेल हुनेले संसारै हारे । परीक्षामा ४० वटा प्रश्नको उत्तर दिनुपर्ने र पास हुनलाई ३८ वटा मिलाउनुपर्ने नियम वा पद्धति बनाइएको रहेछ । ३७ लाई कटलाइन भनिँदोरहेछ अर्थात् ३७ भन्दा तल आउने फेल हुने रहेछन् । यसरी ३८ भन्दामाथि आउने सबै खुसी, कम आउने सबै दुःखी । 

मापदण्ड अनुसार फेल हुनेहरूबिच एकआपसमा छलफल चल्दै थियो कि अब कुन देश जाने ? कसरी जाने ? पैसाको जोहो कसरी गर्ने ? कुन देशमा जाँदा पैसा धेरै र छिट्टै कमाउन सकिन्छ ? आदि इत्यादि । उनीहरूको हतास, अत्तालिएको, हारेको, असन्तुलित मनस्थिति देख्दा लाग्थ्यो– नेपालमा गरिखाने कुनै अवसर नै छैन । ठाउँ नै छैन । वातावरण नै छैन । परिस्थिति नै छैन । के वास्तवमै नेपालको अवस्था यस्तै हो त ? उनीहरूले सोचेको जस्तै, उनीहरूले बुझेको जस्तै । के यहाँ गरिखाने कुनै अवसर नै छैन त, यहाँ कुनै रोजगारीको सम्भावना नै छैन ? एक पटक घोत्लनुपर्ने बेला आएको छ । गहिरिएर सोच्नुपर्ने बेला आएको छ । कतै सही ठाउँमा, सही समयमा नपरेर नपाएको पो हो कि वा खोजी नै नगरिएको पो हो कि । सही ढङ्गले खोजी नगरिएकाले नपाएको पो हो कि । योग्यता र क्षमता अनुसारको काम र दाम नपाएर पो हो कि । यहाँ कहाँनेर कुरो मिलिरहेको छैन खोजी गर्नु जरुरी छ । साँच्चै अवसर नै छैन, वातावरण नै छैन, परिस्थिति नै छैन भने राज्यले यी कुरा मिलाउनु जरुरी छ । 

हामीसँग अथाह प्राकृतिक स्रोतसाधन छन् । हामीसँग प्रशस्त जल, जमिन र जङ्गल छन् । यिनीहरूको सदुपयोग गरेर देशमा थुप्रै उद्योगधन्दा खोल्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ । राज्यले स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो र योग्यता, विज्ञता, क्षमता अनुसारको काम, माम र दामको व्यवस्था मिलाउने हो भने कुनै पनि नेपालीले बिदेसिनुपर्ने अवस्था आउने थिएन । बिदेसिनुपर्ने पीडा कति दर्दनाक, असह्य हुन्छ भन्ने कुराको प्रमाण खोज्न अन्त कतै जानु पर्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए पुग्छ । त्यहाँको कोलाहलपूर्ण वातावरणले पुष्टि गर्छ नेपाली युवकयुवती खुसीले बिदेसिएका छैनन् । यो कुरा त्यहाँ गएर हेर्दा झर्ने र देखिने आँसुले बताइरहेको हुन्छ । जानेको आँखामा आँसु, बिदाइ गर्नेको आँखामा आँसु । कतै खुसी र पीडा मिसिएको आँसु कतै पीडैपीडाको आँसु । अनि कतै रुन्चे हाँसो कतै आँसु लुकाइएको हाँसो । आँसु र हाँसोको सङ्गमस्थल बनेको छ विमानस्थल । 

चौबिसै घण्टा भरिभराउ, खचाखच, भिडमभिड, मारामार, रुवाबासी– विमानस्थलको विशेषता हो यो । अध्यागमनको आँकडा अनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म एक वर्षका अवधिमा आठ लाख आठ हजार ४१५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अझ स्थलमार्गबाट विदेश जानेहरूको सङ्ख्या यसमा जोडिएको छैन । मात्र एक वर्षको यो आँकडाबाट हामीले सहजै अनुमान लगाउन सक्छौँ कि कति नेपाली युवकयुवती बिदेसिएका छन् । अझै पछिल्लो समयमा त बिदेसिनेको सङ्ख्या दिन दुईगुणा रात चौगुणा बढिरहेको पाइन्छ । एसइई पास गर्नासाथ २० वर्ष पनि उमेर नपुगेका भर्खरका कलिला केटाकेटी इपिएसमार्फत कोरिया जाने तरखर गरिरहेका हुन्छन् । प्लस टु र ब्याचलर गर्नेहरूको त कुरै छाडौँ । आम पढेलेखेका जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका विभिन्न मुलुकमा जाने गरेको पाइन्छ । अनि नपढेका र अण्डर एसइई जति सबै खाडी मुलुकतिर । यसरी नेपालमा कोही पनि बस्न चाहँदैनन् । 

यतिखेर गाउँमा मलामीको अभाव खड्किरहेको छ । गाउँबस्ती सुनसान भएको छ । खेतीयोग्य उर्वरा भूमि बाँझो पल्टिएर वनझड झाडीमा परिणत भएको छ । यतिबेला वनमारा, तितेपाती, सिस्नो र विविधखाले बुट्यानले ढाकिएका छन् । मकै, सिमी, भटमास, कोदो, फापर फल्ने बारीका पाटा काँडाघारीमा परिणत भएका छन् । गाउँमा पात बजाएर मिठो धुन निकाल्दै गाई चराउने गोठालाहरू पाइँदैनन् । गाउँको पहिचान बनेको असारे भाका पनि गाइँदैन अचेल । ‘कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा’ भन्ने चर्चित गीतको औचित्य सकिएको छ अब, किनकि न कोदो रोप्ने मान्छे छ न त तोरी छर्ने नै । गाउँ पूरै उजाड बनेको छ । मलामी जाने, गोठाला लाग्ने, खेत रोप्ने, कोदो रोप्ने, तोरी छर्ने सबै श्रमशील पाखुरा विदेशी भूमिमा श्रम गर्न बाध्य छ । उनीहरू सबै कतारको, साउदी अरबको ५० डिग्री तापव्रmममा भेडा चराइरहेका छन् । कोरिया, मलेसियाका खेतबारीमा तरकारी रोप्दै, गोड्दै र टिप्दै छन् । कोही फलाम कारखानामा, कोही कागज कारखानामा, कोही बुङ्गुर फर्ममा, कोही पोल्ट्री फर्ममा श्रमसँग, पसिनासँग पैसा साटिरहेका छन् । त्यसै गरी कोही जापान, अमेरिकालगायत युरोपियन देशमा आफ्नो योग्यता, विज्ञता, क्षमता, सिप र श्रम बेचिरहेका छन् । खुसीले, चाहनाले, इच्छाले होइन, बाध्यताले । 

सबैभन्दा दुःखद कुरो साहुको चर्को ब्याजमा ऋण काढेर ठुलो सपना बोकेर प्रदेशिएका नेपाल आमाका थुप्रै छोराछोरी सपनालाई बिचमै तुहाएर आफू बाकसमा फर्किएर आइरहेका हुन्छन् । यति मात्र होइन कतिले दर्दनाक यातना भोगिरहेका हुन्छन् भने कति जेलमा सडिरहेका हुन्छन् । हामीले विभिन्न सामाजिक सञ्जालबाट जानकारी पाइरहेका छौँ जेल जीवन बिताइरहेकाहरू, यातना भोगिरहेका, मृत्युदण्डको सजाय पाएकाहरू सरकार र विभिन्न सङ्घ संस्थासँग जीवनको भिख मागिरहेका हुन्छन् । यसबाट पुष्टि हुन्छ वैैदेशिक रोजगारीमा जानेको जीवन कति पीडादायी, दर्दनाक छ । 

हामीसँग भएका अथाह प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी आफ्नै देशमा उद्योगधन्दा सञ्चालन गरेर रोजगारी सिर्जना गरौँ र वैदेशिक रोजगारीमा जाँदा सिर्जना हुने दर्दनाक पीडाबाट नेपाली युवकयुवतीलाई बचाउने काम गरौँ । यतिबेला जो गइरहेका छन् उनीहरूलाई पनि स्वदेश फर्काउने वातावरण तयार गरौँ । उनीहरूले विदेशमा सिकेका ज्ञान, सिपलाई नेपालमा प्रयोग गरी नेपालको विकासमा टेवा पु¥याउने काम गरौँ । स्वदेशमा भएकालाई रोजगारीको व्यवस्था मिलाउँछौँ, विदेशमा भएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने सपनाका पुलिन्दा त धेरै बाँडिएकै छन् तर व्यवहार तदनुकूलको छैन । एकापसमा लड्दालड्दै नागरिकको कल्याणका लागि समय दिने फुर्सद कसैसँग छैन । यति धेरै पीडाका खबर सुनिरहँदा, देखिरहँदा र भोगिरहँदा पनि सोच्ने फुर्सद हुँदैन भने राजनीति गर्नुको अर्थ बाँकी रहन्छ र ? एक पटक सबैले सोच्ने हो कि ? अब पनि नसोचे कहिले सोच्ने ? ढिला भएन र ?