• १३ साउन २०८१, आइतबार

एक सय बिस औद्योगिक ग्राम घोषणा

blog

काठमाडौँ, जेठ २७ गते । मुलुकभर १२० औद्योगिक ग्राम घोषणा भएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सबै स्थानीय तहमा ग्राम स्थापना गर्ने लक्ष्य रहे पनि चालुु आवको फागुनसम्म १२० स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । 

स्थानीय स्रोतको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना, विकास र प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् । चालु आव २०८०/८१ मा मात्र १५ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा भएका छन् । थप छ वटा औद्योगिक ग्राम घोषणाको प्रस्ताव मन्त्रीपरिषद्‍मा पुगे पनि स्वीकृत भएका छैनन् । औद्योगिक ग्राम घोषणा गरेका स्थानीय तहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानसमेत पठाउँदै आएको छ । 

एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजनाले छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि सघाउ पुग्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । औद्योगिक ग्रामका लागि हिमाली र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा न्यूनतम क्षेत्रफल तोकिएको छ ।