बोमलाल गिरी
नवलपुर, जेठ २६ गते । कावासोतीमा रहेको नवलपुर एफएमका संस्थापक स्व. पत्रकार तीर्थराज भुसालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
सक्रिय पत्रकार भुसालको २०७४ सालको निर्वाचनमा रिपोर्टिङ्ग गरेर फर्किने क्रममा दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परी उहाँको निधन भएको थियो । रगतको अभावमा दुर्घटनामा परेका कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर हरेक वर्ष उहाँको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैंआएको भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपेन्द्रश्वर भुसालले जानकारी दिनुभयो ।
ट्रष्ट र नवलपुर एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा १४ जना महिला र ८२ जना पुरुषगरी ९६ जनाले रक्तदान गरेको नवलपुर एफएमकी कार्यकारी निर्देशक राधिका भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले मानव जीवनको सबैभन्दा ठुलो दान भनेकै रक्तदान भएको भन्दै यस्ता कार्यक्रमले समाज सेवाको भाव जागृत गराउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले भुसालको स्मृतिमा गरिएको रक्तदानले धेरैको ज्यान बचाउन सहयोग गर्ने बताउनुभयो । उहाँले एउटा सञ्चार माध्यमले हरेक वर्ष समाजमा सचेतना फैलाउने कार्यक्रम गर्दैआएको बताउँदै यस्ता कार्यक्रमलाई स्थानीय तहको संरक्षकत्वको खाँचो रहको बताउनुभयो ।