• १३ साउन २०८१, आइतबार

रास्कोट नगरको मनपरी : गाडी भाडा र इन्धनमा ६१ लाख खर्च

blog

रास्कोट नगरपालिकाको कार्यालय। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट जेठ २६ गते। कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कर्मचारी नियुक्ति सरुवा, बढुवामा मात्र होइन आर्थिक कारोबारमा समेत मनपरी गरेको प्रमाण फेला परेको छ। नगरपालिकाले एक आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीले गाडी चढेको र गाडीमा इन्धन हालेको मात्र ६१ लाख बढी खर्च गरेको पाइएको हो। 

नगरपालिको आर्थिक वर्ष २०७९/२०८० को बजेट बाट गाडी भाडामा २६ लाख २६ हजार पाँच सय रुपियाँ र इन्धन खर्च बापत ३४ लाख ८१ हजार २६५ खर्च गरेको पाइएको हो।महालेखा परीक्षकको कार्यालयले जेठ १२ गते सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले सञ्चालन गरेका अधिकांश कार्यक्रम नेपालको प्रचलित कानुन विपरीत भएको उल्लेख छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) नगरपालिकाले स्थानीय यातायात रुट निर्धारण रुट अनुमति खारेजी र भाडादर निर्धारण गर्न सक्ने व्यवस्था छ। 

नगरपालिकाले सार्वजनिक यातायातका साधन सञ्चालन हुने राजमार्ग क्षेत्रका स्थानमा जान फरक फरक व्यक्तिले फरक भाडा भुक्तानी गरेको र एक वर्षमा २६ लाख २६ हजार पाँच सय भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। 

नगरपालिकाको दुई वटा गाडी २० वटा भन्दा बढी मोटर साइकल हुँदाहुँदै एक वर्षमा २६ लाख बढी भाडा तिर्नु र ३४ लाख ८१ हजार २६५ रुपियाँको इन्धन खर्च गर्नु सरकारी बजेटको दुरुपयोग गरेको स्थानीयको आरोप छ। 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अध्यापनपछि सामाजिक अभियान्ता अशोक नाथ योगीले नगरपालिकाको मनपरीको पराकाष्ठा भन्नुभएको छ। महालेखा परीक्षकको कार्यालयले ऐन २०७४ को दफा ७१ मा ब्याएको बजेट अनुमानको आन्तरिक आय परिधि भित्र रही औचित्यताको आधारमा खर्च गर्न मिल्ने भए पनि नगरपालिकाले होचुवाको भरमा ३४ लाख ८१ हजार २६५ रुपियाँको इन्धन खर्च गरेको उल्लेख गरेको छ। 

ऐनमा आर्थिक सहायता चन्दा दिन नपाउने भए पनि रास्कोट नगरपालिकाले चार लाख ६० हजार खर्च गरेको छ। हरेक काम नगरपालिकाले नियमविपरीत काम गरेको मलेपको प्रतिवेदनमा उल्लेख छ। 

नगरपालिकाको नाममा दुई गाडी भए पनि ती गाडी प्रयोगमा छैनन्। सुर्खेतको गण्डकी मोबाइल सप नामको ग्यारेजमा एक वर्षदेखि थन्काएर राखिएको छ। यता नगरपालिकाले प्रमुख धर्मराज शाहीले आफ्ना नातेदारको गाडी मासिक एक लाख ८० हजारमा भाडामा लिएर चढ्दै आउनुभएको छ।