वासिङ्टन डिसी, जेठ २६ गते । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।
एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै हुनुहुन्थ्यो । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताउनुभयो ।
डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य, एन्डर्स उहाँका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ती मध्ये एक हुनुहुन्थ्यो ।
चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिच्नुभएको थियो । “अर्थराइज’’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक “संसार बदलेको १०० तस्बिर’’हरुको सूचीमा समावेश गरिएको थियो ।
“सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो ।’’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।
सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिनुभएको एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाल्नुभयो। उहाँ विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बन्नुभयो र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गर्नुभएको थियो । रासस /एएफपी