• १२ साउन २०८१, शनिबार

बिच पेटीमा सभ्य मान्छे ! (कथा)

blog

उसलाई घाँस खुवाउने विचार थियो । मैले निर्णय गर्न सकिरहेको थिइनँ । मेरो झोलामा एक मुठा पालुङ्गो र एक मुठा चम्सुर थियो । त्यो झिकेर म उसको मुखैनिर लगेर भन्न सक्थेँ, “लौ खाऊ घाँस ।” तर तह परेन । उसैलाई मात्र घाँस खुवाउने लक्ष्य किन लिनु प¥यो भन्ने सोचेँ । म मार्केट गएर फर्कंदा ऊ एक्कासि एटिएमबाट पैसा झिकेर पेटीमा निस्केको थियो । पैसा पाइयो वा पाइएन त्यो मैले देख्न पाइनँ । एटिएमतिर जाने काम मेरो परेको थिएन तथापि यहाँ नयाँ स्थापित एटिएम छ भन्ने मलाई थाहा थियो ।

एटिएम कुन बैङ्कको हो, त्यो यहाँ उल्लेख गरिरहनु आवश्यक थिएन । कुन बैङ्कको हो भन्ने मलाई थाहा थियो । बैङ्कको नाम उल्लेख गर्दा सित्तैँमा प्रचार हुने थियो । यो जानिराख्दा हुन्छ, अचेलभरि जताततै एटिएम भरमार छ । मात्र कति भने खातामा रकम हुनु प¥यो । उसको खातामा रकम हुँदो हो र त पैसा झिक्यो होला । एटिएमको कार्ड त मसित पनि थियो त्यस बेला, रकम थिएन । एकदुई चोटि रकम नभए पनि पैसाको गर्जोले मेसिनमा कार्ड छिराएर यताउताका नम्बर थिचेर हेरेँ तर रकम आएन । निराश भएर मेसिनले वाकेको कार्ड लिएर क्याबिनबाट निस्केको थिएँ ।

यी सबै विवरण अनावश्यक लाग्न सक्छ तर उसलाई बिच पेटीमा उभिएर मोबाइलमा कुरा गरिरहेको देखेपछि यस्तो विवरण आयो मेरो मनमा । साथै ऊ एटिएमतिर छिर्ने गेटको अगाडि पनि उभिएको थियो । त्यता जाने गेटको अगाडिको पेटीको बिचमा ऊ उभिएको थियो । र भन्नु परोइन, मोबाइलमा मग्न भएर कुरा गरिरहेको थियो । मानौँ, यस भेगमा ऊभन्दा अर्को कोही छैन । हुन पनि पेटीबाट ओहोरदोहोर गर्ने त्यस बेला कोही थिएन । म मात्र तरकारी बजारबाट फर्किरहेको थिएँ । 

तरकारी बजार म यस कारण जान्थेँ, त्यहाँ तरकारी किन्दा केही बचत हुन्थ्यो । त्यहाँ पालुङ्गोको साग एक मुठाको २० पथ्र्यो भने छिमेकको पसलमा ठटाएर २५ लिन्थ्यो । कोठाबाट तरकारी बजार अलि टाढै पथ्र्यो र त्यता तरकारी किन्न जाँदा मर्निङ वाक पनि हुन्थ्यो । कममा पनि १०/१५ रुपियाँ बचत पनि हुन्थ्यो, तरकारी किन्दा । परिवारमा सदस्य सङ्ख्या धेरै थिए तर म तरकारी बजार पुगेर पनि एकमुस्ट धेरै तरकारी किन्न सक्दिनथेँ । स्पष्ट थियो, मसँग सीमित पैसा हुन्थ्यो । मनग्गे खर्च गर्ने हैसियत थिएन । हैसियत नहुँदानहुँदै पनि म परिवारलाई यस कारण चम्सुर पालुङ्गो खुवाउँथेँ कि सिजनल तरकारी उनीहरूले पनि चाखून् । यसकारण पत्नी पातलो मसुराको दालसँगै चार/पाँच वटा धर्सा साग प्रत्येक सदस्यको भागमा बन्डा पर्ने गरी बाँड्थिन् । कहिले उनका लागि साग बाँकी रहन्थ्यो, कहिले रहँदैनथ्यो । नरहनुको कारण मै हुन्थेँ । 

म भन्थेँ, “साग छैन ?” साग मैले खाइदिएँ भने पत्नीले खान पाउँदिनँ भन्ने मलाई थाहा थियो तर पुरुषस्वार्थले प्रेरित भएर म त्यसो भनिटोपल्थेँ, “साग छैन ?” पत्नी मेरो मागका अगाडि नतमस्तक हुन्थी । आफ्नो भागकै लागि बचेको केही साग भाँडो ख¥याकखुरुक पारेर मेरो थालमा आदरका साथ राखिदिन्थी । ऊ बुद्धिमत्ता थिई । यो देखाउँदैनथी, “मैले नखाए पनि हुन्छ तर तपाईं तृप्त हुनुहोस् ।” पुरुष अहम्लाई चोट नलागोस् भन्नेमा ऊ सचेत थिई । उसमा श्रीमान्प्रति समर्पणको भाव पनि थियो । यो भन्न मैले दाबी गर्नै पर्दैन ।  

पत्नी मेरा आवश्यकतालाई आफ्नाभन्दा बढी प्राथमिक सूचीमा राख्थी । उसको अर्को सहारा थिएन । माइतीहरू पहाडमा गरिबहरू थिए । माइत जाँदा उसैले खाइनखाई बचत गरेको रकमले लुगाफाटा र जाडोका लागि ओढ्ने मोटा मोटा सिरक र डसना लिएर जान्थी । फर्कने बेलामा केही रासनपानी पनि किनिदिन्थी । पानी त नभनूँ, चामल र दाल सकेको किनेर छाडिदिन्थी । पहाडमा पनि चामल र दालका पसल खुलिसकेका थिए । पानी अभैmसम्म त पँधेरो वा धारोमा पालो कुरेर भए पनि बुढाबुढीले थापेर खाने गरेका थिए । पहाडले पनि मुहार फेरेको छ । पहिलाको पहाड छैन । 

आर्थिक पक्षका कारण ऊ माइत जान हिचकिचाउँथी । उसले महिलाका ब्लाउजमा, कुर्तासुरुवालमा टाँक लगाउने, तुर्पन गर्ने कामबाट केही बचत गर्थी । बचत गरेकोलाई कमाउँथी भन्न मन लागेन मलाई । कमाउनु र बचत गर्नुमा फरक लाग्यो मलाई तर त्यति फरक छैन तैपनि भाषाको एउटा खेल हुन सक्थ्यो यसमा । छिमेककै टेलरिङ सपसँग सम्पर्क राखेर त्यहाँबाट टाँक लगाउने र तुर्पन गर्ने फुटकर काम लिएर आउँथी । काम लिएर आउँथी भन्दा सजिलो गरी हुने काम जस्तो देखिन सक्छ तर त्यसो होइन । धेरै दुःखव्यथा देखाएर काम माग्नु पथ्र्यो । दिनेको हात माथि नै हुन्थ्यो, हात थाप्ने तलै पर्नु पथ्र्यो । 

अहिले म तरकारी बजारबाट फर्किरहेको छु । तरकारीको सन्दर्भमा यी सुखदुःखका कुरा भए । सुखका कुरा कम, दुःखका कुरा बढी । पालुङ्गो र चम्सुरको सागको तरकारी सम्झँदा मुखै रसाएर आयो । मेरी पत्नीको साग पकाउने सिप पनि त्यत्तिकै राम्रो छ । अभावको बेला सबै खाना मिठै लाग्ने भए तर त्यो स्वादमा खलल पु¥याउनै भनेर त्यो मान्छे एटिएमबाट निस्केर बिच पेटीमा उभिएर मोबाइलमा कुरा गर्न लागेको होइन । देहमुद्राले ऊ निकै बेर कुरा गर्ने छाँट देखियो । ऊ व्यापारी थियो अथवा बिचौलिया । माने यताबाट थोकमा सामान किनेर उता जिल्लामा लगेर मुनासिब नाफा राखेर बेच्ने व्यक्ति तर त्यो पनि व्यापारी नै ठहरिन्थ्यो । जे भए पनि ऊ बिच पेटीमा बाटो ढाकेर उभिएको  थियो । 

मानिस मधेश, पहाड वा अमेरिका वा पोल्यान्ड कहीँको पनि हुन सक्छ । तर ऊ मधेशतिरको देखियो । ढडाकको । पहाडको पनि हुन सक्थ्यो । पहाडी मूलको मधेशी पनि हुन सक्थ्यो । अचेल यस्तो भन्ने चलन पनि ल्याएका छन् । मधेशी मूलको पहाडी भन्ने चलन ल्याइएको छैन तापनि पहाडी मूलको मधेशी भनेर गर्वका साथ चिनाउने गरिन्छ । ऊ जहाँको भए पनि मानिस ढडाककै थियो । तर एउटा भावना मभित्र पनि जागेको थियो, पेटीको बिचमा बाटै ढाकिने गरी उभिएर यो मान्छे किन मोबाइलमा कुरा गरिरहेछ । हाम्रो डेरा भएतिर केही मजदुर बिहानैदेखि ज्यालादारी कामको खोजीमा पेटी नै ढाकिने गरी उभिएर आपसमा गफिने गरिरहेका हुन्छन् । अहिले यो पनि त्यसरी नै उभिएको छ । नागरिक चेतना नभएको देखियो । यसलाई सचेत गराउनु जरुरी छ भन्ने एक किसिमको ठालुगिरी मभित्र जाग्यो यद्यपि यसलाई ठालुपन भन्न मिल्दैनथ्यो । म तैपनि उसबाट तर्कन पेटीबाट सडकमा ओर्लेर उसलाई नाघेपछि फेरि पेटीमा उक्लेर गन्तव्यतिर जान सक्थेँ । गन्तव्य भन्नु भव्य हुने थियो तर जानु उही डेरातिर हो ।  

म उसको छेउ पुगेपछि भनिहालेछु, “ओ महोदय ! यो बिच पेटीमा उभिएर के गरेको ?” 

यति मात्र भनेको थिएँ, उसले मोबाइलको कुरा रोकेर मलाई रिसले हेर्दै भनिहाल्यो, “देख्दैनौ म के गर्दै छु ?” 

“त्यो त अन्धोले पनि देख्न सक्छ तर बाटो नै छेकेर पेटीमा उभिनु कहाँको सभ्यता हो । उभिने नै भए बिच सडकमा उभिनु पथ्र्यो । अनि थाहा पाउँथ्यौ के गरेको भन्ने ?” मैले कुरा नबढाएको भए हुने । खुरुखुरु आफ्नो बाटो लागेको भए हुने । तर अब बोलिसकियो । 

व्यक्ति युवक नै थियो । जङ्गियो र भन्यो, “म के घाँस खाने जनावर देखिन्छु तपाईंलाई बिच सडकमा उभिएर मोबाइलमा कुरा गर्नलाई ।” 

त्यसै बेला मलाई यो विचार आएको हो कि झोलामा बोकेको दुई मुठा साग उसको अगाडि राखिदिएर भनूँ, “लौ घाँसै खानोस् न त । पेटीको बिचमा उभिएर आउनेजानेको बाटो छेकेर कुरा गर्ने भए ।” तर कुराका लागि घटनाक्रम मिलिरहेको थिएन । साग झिक्नै मन लागेन । घरमा सागको आसमा बसेकी पत्नी र उसले पकाएको सागका तीनचार त्यान्द्रा भए पनि चाख्ने तृष्णामा बसेका अरू सदस्यको अनुहार मेरा आँखामा झलझली नाच्न आए । 

युवकले एकछिन मलाई निकै घोइरिएर हे¥यो । मोबाइलमा कुरा गर्न रोकिसकेको थियो अनि ऊ एक्कासि फिस्स हाँस्यो र भन्यो, 

“ओ सरी अङ्कल ! साँच्चै मैले गल्ती पो गरेको रहेछु, पेटीको बिचमा उभिएर ।” त्यसपछि ऊ एकछेउ लाग्यो र अभिवादनमा एउटा हात उचालेर लाज पचाउन अर्कोतिर हिँडी पनि हाल्यो ।  

Author

भाउपन्थी