• १६ भदौ २०८१, आइतबार

राज्यका नीति व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यकः मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौँ, जेठ २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यका नीति, नियम, कानुनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘‘यस सम्बन्धी समस्याको विषयमा हामी जानकार छौँ । तर समाधान कसरी ? भन्ने मुख्य कुरा हो भन्ने मलाई लाग्छ । यो समाधानका निम्ति हामीले जसरी व्यापार, व्यवसाय कोभिड महामारी लगायत विभिन्न कारणले गर्दा व्यवसायिक क्षेत्र मन्दीमा छ । मोबाइल व्यवसाय पनि यसकै मारमा छ । त्यसमाथि पनि राज्यका कयौँ नीति, नियम, कानुन हाम्रा व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘व्यवसायलाई संरक्षण गर्न, यसलाई अगाडि बढाउनका निम्ति हाम्रा नीति, नियम र कानुन व्यापारमैत्री, व्यवसायमैत्री बनाउन जरुरी छ । त्यसका लागि हामी प्रयत्न गरिरहेका छौँ । हाम्रो कर नीतिमा केही समस्या छन्, त्यसको समाधानमा सरकार लागिरहेको छ ।’’

मन्त्री शर्माले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताउनुभयो । उहाँले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महङ्गो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरु निरुत्साहित रहेको बताउनुभयो । उहाँले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यहीँ उत्पादन गरौँ भन्दा र मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महङ्गो हुन्छ । त्यसले गर्दा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायहरु निरुत्साहित छन् । नेपालमै एउटा एसेम्बी मोबाइल फ्याक्ट्री खोलौँ भनेर मैले आग्रह पनि गरेँ । नेपाली व्यवसायीहरुले पनि खोल्नुपर्छ । त्यसको लागि मेट्रियल, रअ मेट्रियल ल्याउने कुरा महङ्गो पर्ने कुरा गर्नुभयो । यस पटकको अर्थ विधेयकमा यो प्रयत्न भएको छ ।’’

मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।