गुणबहादुर रोका
सुलीकोट, जेठ २५ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ । बिहीबार बिहान करिब ६: ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका – १ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा सवारी साधना तथा उत्तरी भेगमा पुग्नुपर्ने नागरिकहरू बिच बाटोमा रोकिनुपर्ने अवस्था आएको थियो ।
त्यस क्षेत्रमा माथिबाट आएको पहिरोले सडकमा ठुला ठुला ढुङ्गा र माटोले सडक ढाकिएको थियो । पहिरोलाई नेपाली सेनाको टोलीले १२ घण्टापछि पन्छाएर सवारी साधनलाई सहज बनाएको छ । नेपाली सेनाको टोलीले पहिरो पन्छाउन मेसिन प्रयोग गरी हटाएको स्थानीयबासी छयाङ लामाले बताउनुभयो ।
त्यस पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको थियो । पहिरो ४० मिटर माथिबाट खसेर अवरुद्ध भएको सडक बिहीबार बेलुका नेपाली सेनाले पहिरो हटाएता पनि सवारी साधन शुक्रवार बिहानबाट आवतजावत हुन थालेको स्थानीय छयाङ लामाको भनाइ छ । त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारण बिहानबाट रोकिएर नागरिकहरू गन्तव्यतर्फ अघि बढेका छन् ।