• १३ साउन २०८१, आइतबार

हावाहुरीले केरा र मकै खेतीमा क्षति

blog

सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा लगाएको केरा खेतीमा भएको क्षति । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, जेठ २४ गते। सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ। जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठुलो हावाहुरीले केरा र मकै खेतीमा ठुलो नोक्सान गरेको हो। इनरुवा, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ।

 आउँदो हप्तादेखि एक महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो।

इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उहाँले बताउनुभयो। मेहताका अनुसार करिब एक करोड रुपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ।

जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ। इनरुवा ९ का किसान जसलाल यादवले बगानको केरा दुई हप्ता दिनपछि बिक्री हुने अवस्थामा रहेकोले अब ढलेपछि अलि समस्या भएको बताउनुभयो। 


ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब लाखौँ रुपियाँ खर्च गर्नुपर्ने हुनसक्ने यादवको भनाइ छ। अर्का किसान श्याम यादवले हावाहुरीले केरा खेतीमा गरेको यो नोक्सानी अहिलेसम्म कै ठुलो भएको दाबी गर्नुभयो। 

उता सयौँ बिघामा लगाएको मकै बालीसमेत हावाहुरी वर्षाले खेतमै ढलेकाले भित्र्याउन समस्या भएको किसान दीपेन्द्र यादवले बताउनुभयो। अधियाबटियामा खेत लिएर मकै खेती लगाएका किसान राजाराम यादवले भित्र्याउने बेलामा अत्यधिक हावाहुरी र वर्षाले मकै खेतमै ढलेकाले भित्र्याउन समस्या भएको गुनासो गर्नुभयो। जिल्लामा झन्डै १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।