• १४ मंसिर २०८१, शुक्रबार

शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी

blog

नेकपा(माओवादी केन्द्र) का सचेतक रुपा सोशी चौधरी

काठमाडौँ, जेठ २४ गते । नेकपा (माओवादी केन्द्र) का सचेतक रुपा सोसी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिबाट यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सचेतक सोसीले शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको हो ।

सांसद चौधरीले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुङ्गिन नसकेको भन्दै पटक–पटक सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताउनुभयो । उहाँले सहमतिबाट छिटो टुङ्ग्याउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीको विषयलाई म एकचोटी पुनः यो संसदमा बोल्न चाहन्छु । शान्ति प्रक्रिया अब टुङ्गिन्छ कि भन्ने हुँदाहुँदै पनि फेरि पनि रोकिने क्रम जारी रहेको छ । सरकारलाई आग्रह गर्न चाहन्छु, अब यसलाई विलम्ब नगरी सहमतीय प्रणालीबाट यथाशीघ्र टुङ्ग्याउने प्रक्रियातिर ध्यान जाओस् ।’’

सचेतक चौधरीले विपद् पूर्वतयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।