बाबुराम कार्की
वराहक्षेत्र, जेठ २४ गते । नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल नेकपा एमाले सुनसरीको पन्ध्र दिन अघि भएको आठौँ अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्वर्गीय खनाल वराहक्षेत्र नगरपालिकाको पूर्व संस्थापक मेयर हुनुहुन्थ्यो । लामो समयदेखि जन्डिसका बिमारी रहनुभएका खनाल भारतमा उपचार गराउँदै आउनु भएको थियो । खनालका श्रीमतीसहित एक छोरा र एक छोरी हुनुहुन्छ । वराहक्षेत्र नगरको संस्थापक मेयरको निधनको खबरले सिङ्गो वराहक्षेत्र नगर अहिले शोकमा डुबेको छ ।