• १३ मंसिर २०८१, बिहिबार

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पाण्डेको निर्देशन

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २३ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्घटना, बाढी र पहिरो लगायतको प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा गण्डकी प्रदेश सरकारले विशेष ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ। 

तनहुँको शुक्लागण्डकी–४ हस्पिटलचोक, बेलचौतारामा गरिएको ‘सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले निर्देशन दिनुभएको हो।  मानवीय कार्यप्रति संवेदनशील हुनुपर्ने भएकोले प्राथमिकता राखेको उहाँको भनाइ थियो। 

पाण्डेले भन्नुभयो, ‘विपद् व्यवस्थापनलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रदेश सरकारले सबै सरोकारवाला निकायसँगको समन्वयमा विपद्को पूर्वतयारी, विपद् रोकथाम, विपद् उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुर्नस्थापनलाई उच्च प्राथमिकतामा साथ कार्यान्वयन गर्दै आएका छौँ।

 नेपाल भू–कम्प, बाढी पहिरो, आगलागी, हिमपहिरो, हावाहुरी तथा दुर्घटना लगायतका प्रकोपबाट  जोखिमयुक्त भएकाले  प्रकोप न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम तथा तालिमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

सोही अन्तर्गत प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको सहकार्यमा यस वर्ष पनि विभिन्नखाले सम्भावित विपद् घटना न्यूनीकरण र पूर्व तयारीका लागि अभ्यास कार्यक्रम गरेको पाण्डेले बताउनुभयो। 

तालिम प्राप्त जनशक्ति दुर्घटनाको समयमा विधि सम्मत तवरबाट सुरक्षा फौजसँग सहकार्य गर्दै उद्धारमा समेत परिचालित हुन सहयोग पुग्ने उहाँको भनाइ थियो । 

नेपाल जस्तो विपद् जोखिम भएको  देशमा यस प्रकारको कार्यक्रमले स्थानीय स्वंमसेवकको उत्पादन गरेर विपद् र दुर्घटनापछिको उद्धारमा ठुलो सहयोग पुग्ने पाण्डेको भनाइ थियो। 

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरमा १० करोड नघट्ने र जिल्ला स्तरमा १० लाख नघट्ने गरेर विपद् व्यवस्थापन कोष सञ्चालन गरिरहेको पाण्डेले जानकारी दिनुभयो। 

विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद् व्यवस्थापनका काममा सरकारका सबै संयन्त्र, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज लगायत सरोकारवाला सबै एकजुट भएको खण्डमा ठुला विपद् र दुर्घटनाको पनि सहज सामना र सहजीकरण गर्न सकिने पाण्डेले बताउनुभयो। उहाँले सबैलाई आ–आफ्नो ठाउँबाट विपद् प्रतिकार्यमा एकजुट हुन आग्रह गर्नुभयो।