• ११ असोज २०८१, शुक्रबार

‘महिला हिंसाका घटना न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक’

blog

कार्यक्रममा सहभागीहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ २३ गते ।
 महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरूले जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरूसँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जोड दिएका हुन् ।

महिला अधिकारकर्मी कमला बरालले महिला हिंसा गर्दैनौँ भन्दै ठुला ठुला भाषण गर्ने भन्दा पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि समाजमा अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने र विभिन्न बाहानाहरु बनाउने गरेको गुनासो गर्नुभयो । दलितहरूलाई उपल्लो समुदायले दबाउने परम्परा कायमै रहेको उहाँको भनाइ छ ।

महिला हिंसा घरमै पनि हुने गरेको बताउँदै त्यी घटनाहरू दबिएर बस्ने गरेको र बाहिर आउन नसकेको लक्ष्मी पाण्डेले बताउनुभयो । यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि सचेतनालगायत सबैको सामूहिक प्रयास जारी रहेको उहाँले बताउनुभयो । समाजमा लागू पदार्थ सेवन र मादक पदार्थ सेवनका कारण पनि महिला हिंसा बढी हुने गरेको बताउँदै यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सबैको सामूहिक प्रयासले मात्रै सम्भव हुने कार्यक्रममा सहभागी अन्जु पन्थीले बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले मात्रै समस्या समाधान गर्न नसक्ने भएकाले सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सातै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने व्यवस्था भए पनि कार्यालय स्थापना हुन नसकेको उहाँको भनाइ छ । महिलासम्बन्धी समस्या समाधानका लागि स्थानीय तहहरू र जिल्ला प्रशासनसँगको समन्वयमा समस्या समाधान गर्दै आएको उहाँको भनाइ छ ।