• २४ पुस २०८१, बुधबार

पालुङटारमा दुना टपरी बनाउने उद्योग सञ्चालन

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ २३ गते ।
 गोरखाको पालुङटार नगरपालिकामा दुना टपरी बनाउने उद्योग सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ डुम्रीडाँडामा अत्यधिक सालका रुखहरू हुने क्षेत्र भएकाले त्यस वडाको महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन सहयोग पुग्ने हेतुले तीन वटा महिला सञ्जाल भएर दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न लागिएको वडा न ३ का वडा अध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट विनियोजित तीन लाख बजेबाट सालको पातको दुना टपरी बनाउने मेसिन खरिद गरिएको हो । वडा भित्रका तीन वटा महिला सञ्जालहरू मध्येबाट २० जनालाई पात दिनसम्म दुना टपरी बनाउने तालिम दिइएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो ।

महिला उद्यमीले उत्पादन गरेको दुना टपरी पालुङटार नगरपालिकाले बजारीकरणको सम्पूर्ण व्यवस्था गर्ने भएको छ । त्यस दुना टपरीको मूल्य भने वडा कार्यालयले निर्धारण गर्नेछ । अहिले वडा कार्यालयलाई तीन वटा मेसिन खरिद गरी ल्याइएको छ ।

वडा कार्यालय नजिकै रहेको पुरानो विद्यालयमा तीन वटा मेसिन राखेर उद्योग सञ्चालन हुने वडा अध्यक्ष अधिकारीले बताउनुभयो । उद्योग सञ्चालन भएपछि फुर्सदको समयमा महिला दिदीबहिनीहरूले नजिकै रहेको जङ्गलबाट सालको पात, बाँसको सिन्का बनाउने कामले पनि महिला दिदीबहिनीहरूलाई थप हौसला मिल्ने विश्वास लिइएको छ ।

गाउँमा रहेका बेरोजगार महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले पनि मेसिन खरिद गरिएको नगरपालिकाका प्रमुख विवश चिन्तनले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँघरका प्रत्येक घर घरमा विवाह, व्रतबन्ध, पाश्नी, पूजापाठ, मेला महोत्सवमा जता जाँदा पनि अत्यधिक मात्रामा बाहिरबाट ल्याइएका प्लास्टिक भाडाहरू व्यापक प्रयोग भएको पाइएकाले नगरपालिकाले त्यसलाई अन्त्य गर्न दुना टपरी मेसिन खरिद गरिएको जानकारी दिनुभयो ।

आगामी वर्ष नगरपालिकाले सालका रुख प्रशस्त हुने वडाहरूमा नगरपालिकाले बजेट छट्टाएर मेसिन खरिद गरी वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।