• १२ मंसिर २०८१, बुधबार

नेपालगन्जमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

blog

बाढीसम्बन्धी कृत्रिम घटना अभ्यासमा सहभागी सुरक्षा निकायहरूको संयुक्त टोली । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ २३ गते । 
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बुधबार बिहान नेपालगन्जस्थित वाटरपार्कमा बाढीसम्बन्धी बाढी कृत्रिम घटना अभ्यास गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्यकर्मीको सहभागितामा सो बाढी कृत्रिम घटना अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

उहाँले वर्षा नजिकिँदै गएकाले जिल्लामा बाढी र डुबानजस्तो विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न यो बाढी कृत्रिम घटना अभ्यास गरेर सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरूप बाँकेको राप्ती नदी र वाटरपार्कहरुमा बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालले कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरूको क्षमता वृद्धि हुने र भएका कमीकमजोरीलाई सुधार गर्न मिलने हुँदा यो अति नै राम्रो कार्य भएको बताउनुभयो ।

बाँकेको तटीय क्षेत्रमा रहेका गाउँबस्तीहरु बाढीको बढी जोखिममा रहेको हुँदा बाढी विपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोग गर्दै आएको छ ।

सो बाढीसम्बन्धी घटना कृत्रिम अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेले बाढीको जोखिमबाट घाइते भएकाहरूलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले यस्ता अभ्यासबाट दक्ष जनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्धार सामग्री चुस्तदुरुत रहने कुरा उल्लेख गर्दै स्थानीय तहहरूले पालिकास्तरमा पनि कृत्रिम घटना अभ्यास निरन्तर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सो अवसरमा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा अगुवा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो ।

यसवर्ष गत वर्षभन्दा पनि बढी वर्षा हुने अनुमान मौसम विभागले गरेको हुँदा बाढी र डुबान पनि बढी हुने सम्भावना रहेकाले अहिले बाटै सो को क्षति कम गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न कार्यक्रम र तयारीहरू गर्दै आएको आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।