चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २३ गते । सुनकोशी गाउँपालिका–३ र ४ जोड्न स्याँले खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । उक्त गापाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले उद्घाटन गर्नु भएको छ ।
कूल लागत ५६ लाख ७८ हजार १२७ रुपियाँमा पुल निर्माण सम्पन्न भएको छ । उक्त लागतमध्ये गापाको सात लाख ३८ हजार १५६, सङ्घीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रम मार्फत ४३ लाख ३६ हजार ३२४, जनसहभागिताबाट एक लाख १३ हजार ५६२ र स्वाप कार्यक्रमबाट सामग्री सहयोग चार लाख ९० हजार लागतमा पुल निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष दयाराम भुजेलले जानकारी दिनुभयो ।
पुलको उद्घाटनमा गापा अध्यक्ष तिमल्सिना, उपाध्यक्ष कान्छी लामा, वडा नम्बर ३ का अध्यक्ष ईश्वर तामाङ, ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ लगायतले पुल निर्माणले यमुनाडाँडा, कालिका, ठोकर्पा लगायत स्थानका हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ मिलेको बताएका छन् । सुनकोशी गाउँपालिकाले केही दिन अघि मात्रै वडा नम्बर ४, ५ र ६ नम्बर जोड्ने पाखरखोलामा झोलुंगे पुल निर्माण गरी उद्घाटन गरेर पुल सञ्चालनमा ल्याएको थियो ।
जनहित ग्रामीण सेवा समितिले प्राविधिक सहयोग गरेको थियो । सुनकोशीमा फेरि दुई वटा स्थानमा झोलुंगे पुलको डिपिआर तयार भएको छ । उक्त पालिकामा एक वडाबाट अर्को जानु पर्दा ठुलो र ठाडो खोला धेरै भएका कारण वर्षायाममा स्थानीयलाई खोला तर्न मुस्किल पर्ने र खोलाले नै बगाउने जोखिम रहेको थियो । पुल निर्माण भएपछि सहजै आउजाउ गर्न सकिने भएपछि स्थानीयहरू हर्षित भएका छन् ।