• ६ असार २०८१, बिहिबार

गर्मी छल्ने प्रमुख गन्तव्यको खोजी

blog

गर्मी छल्न वाटरपार्क पुगेकाहरु नुहाएर रमाउँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २२ गते। विगतका वर्षभन्दा धेरै बढी तातो हावा लु चलेको र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन्।

अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा धेरै ठुलो सङ्ख्यामा नेपाली तथा भारतीय पुग्न थालेका छन्।

गर्मी छल्नका लागि सीमापारि भारतका बहराईच, नानपारा, बाबागन्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालगन्ज, कोहलपुर तथा सो वरिपरिबाट आउनेले यहाँका पौडीपोखरी र वाटरपार्क अहिले भरिभराउ छन्।

नेपालगन्जको बालेगाउँमा निर्माण गरिएको ‘मेरो प्लानेट’ नामक वाटरपार्कका सञ्चालक डा. ओम मिश्राले बाँके र भारतका विभिन्न स्थानका विद्यार्थीदेखि महिला पुरुष सर्वसाधारणले गर्दा अहिले वाटरपार्क बिहानदेखि बेलुकासम्म भरिभराउ हुने गरेको बताउनुभयो। 

उहाँले अत्यधिक गर्मीका कारण वाटरपार्कमा नुहाउन आउनेहरू बढ्दै गएपछि कतिपयले त ठाउँ नपाएर फर्किने गरेको समेत बताउनुभयो। डा. मिश्राले भारतबाट गर्मी छल्न आउनेहरू धेरै ठुलो सङ्ख्यामा रहेको बताउनुभयो।

वाटरपार्क बाहेक नेपालगन्ज रङ्गशालामा रहेको स्विमिङ पुल, खजुरा मिनी पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जन भन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेहरूले भरिभराउ छन्।