कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मङ्गलबार तिलोत्तमामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अधिवेशनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराईलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिनुभयो ।
जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।
अधिवेशन व्यवस्थित गर्नका लागि जिल्ला केसीको संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीको भनाइ छ ।
भैरहवाको सिद्धार्थ भिनासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा तीनहजार पाँच सय बढीको उपस्थिति रहने बताइएको छ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस गरिने छ ।