• १२ साउन २०८१, शनिबार

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा किसान चिन्तित

blog

नरैनापुर १ मा अत्यधिक गर्मीले चिरा पर्न थालेको खेत । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ २२ गते ।
अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् ।

जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने आशङ्का व्यक्त गरेका छन् ।

डुडुवा गाउँपालिका ३ का किसान बिकाउ लाल यादवले जेठ महिना सकिन लागिसक्दा पनि पानी नपरेपछि मोटरको प्रयोग गरी धानको बिउ लगाएकोमा प्रचण्ड घामका कारण सुक्न थालेको बताउनुभयो ।

उहाँले छिमेकीको मोटरबाट पानी तानेर बिउ राख्नुभएको थियो । बिउलाई पटक पटक सिँचाइ गर्नुपर्ने भए पनि पानी नपर्दा बिउ राखेको जमिन चिराचिरा भएर चर्किन थालेको यादवले बताउनुभयो ।

सोही प्रकारले नरैनापुर २ का किसान रहमान जोलाहाले अत्यधिक गर्मी र घामका कारण पानीको अभावले बिउ राख्न नकिएको बताउनुभयो । उहाँले जेठ महिनामा पानी पर्ला र बिउ राखाैंला भनेर बसेकोमा गर्मीले जमिन नै चिराचिरा परेको बताउनुभयो ।

सो पालिकाका अन्य किसानले पनि घरमा भएको विद्युतीय मोटर कम भोल्टेजका कारण नचल्दा यस वर्ष खेतीका लागि सिँचाइ गर्न नसकिएकाले नै बिउ राख्न नसकिएको बताएका छन् ।

उता, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले यसवर्ष भिषण गर्मी परेको र वर्षा हुन ढिलाइ भइरहेकाले जिल्ला पूरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको बताउनुभयो ।

उहाँले सिँचाइको उपलब्धता बिना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुरी, राप्तिसोनारी र बैजनाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताउनुभयो ।

बाँके जिल्लामा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिन छ । गत वर्ष सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान छ । असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा असर नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टाले जनाएको छ ।